अमेरिकाको अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको बहुचर्चित शिखर सम्मेलन ठोस सहमति बिना सकिएको छ। रुस–युक्रेन युद्धमा केन्द्रित रहिएको यो बैठक तीन घण्टाभन्दा बढी समयसम्म चले पनि कुनै अन्तिम सहमति बन्न सकेन।
अलास्काको एल्मेन्डोर्फ–रिचर्डसन सैन्य अड्डामा बन्द ढोकाभित्र भएको उक्त वार्तामा ट्रम्पसँग अमेरिकी सिनेटर मार्को रुबियो, विटकफसहित केही अधिकारी सहभागी थिए। पुटिनसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ र आर्थिक सल्लाहकार किरिल दिमित्रीभ सहभागी थिए।
बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्दै पुटिनले युक्रेनको अवस्था रुसी सुरक्षाका लागि आधारभूत खतरा भएको बताए। उनले दीर्घकालीन सम्झौता गर्न युद्धका सबै प्राथमिक कारणहरू समाधान गर्नुपर्नेमा जोड दिए। किभ र युरोपेली राजधानीहरूले वार्ताको सकारात्मक सन्देश लिनुपर्ने विश्वास समेत पुटिनले व्यक्त गरे। साथै उनले, ट्रम्प राष्ट्रपति भएको भए युद्ध सुरु नै नहुने टिप्पणी गरे।
अमेरिकी राष्ट्रपति ट्रम्पले बैठकलाई उपयोगी बताए। उनले केही मुद्दामा सहमति भएको भए पनि ठूला विषयमा सहमति हुन बाँकी रहेको जानकारी दिए। ट्रम्पले छिट्टै नेटो र राष्ट्रपति जेलेन्स्कीसहित सम्बन्धित पक्षलाई सम्पर्क गर्ने बताए। पुटिनले पत्रकार सम्मेलनकै क्रममा ट्रम्पलाई रूस भ्रमणका लागि निम्तो दिएका थिए।
ट्रम्प र पुटिनबीच २०१९ पछि पहिलोपटक प्रत्यक्ष भेटवार्ता भएको हो। युक्रेनमा पछिल्लो समय हिंसा र आक्रमण बढ्दै गएको सन्दर्भमा भएको यस भेटवार्तालाई युद्ध रोक्ने सम्भावित कूटनीतिक पहलका रूपमा हेरिएको छ।