
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा राना मगरविरुद्ध कुनै पनि प्रस्ताव दर्ता गर्ने निर्णय हालसम्म नभएको स्पष्ट पारेका छन्।
मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुखको कार्यशैलीबारे प्रश्न उठेका भए पनि तत्काल प्रस्ताव दर्ता गर्ने योजना गठबन्धनभित्र नभएको बताए। “अहिले उहाँविरुद्ध प्रस्ताव दर्ता गर्ने निर्णय भएको छैन। सत्ता गठबन्धन त्यस्तो निष्कर्षमा पुगेको छैन,” बर्तौलाले भने।
हालै संसदमा उठेको ‘भिजिट भिसा’ प्रकरणसँगै उपसभामुखको भूमिकाबारे विभिन्न दलले प्रश्न उठाएका थिए। अमेरिकी दूतावासमा केही व्यक्तिको अन्तर्वार्ता प्रक्रियालाई सहजीकरण गर्ने पत्राचारको विषय संसदमा आएपछि यसले बहस र आलोचना चुलिएको हो।
बर्तौलाले यस विवादलाई सरकारसँग भन्दा संसदसँग सम्बन्धित विषयका रूपमा लिएर समाधान खोजिनुपर्नेमा जोड दिए। “उहाँमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन। पदअनुकूल आचरण भए नभएकोबारे संसदभित्र बहस हुनु सामान्य हो,” उनले स्पष्ट पारे।
उनका अनुसार निरन्तर विवादमा संसदलाई अड्काइराख्नु राम्रो नभएकाले समयमै टुङ्गोमा पुर्याउन जरुरी छ। तर तत्कालै प्रस्ताव दर्ता गर्ने कुनै तयारी नभएको उनले दोहोर्याए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।