२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नेपाल समुद्रपार निकासी पैठारी संघले उत्तरी नाका रसुवागढी र तातोपानी बर्सेनि वर्षायाममा बन्द हुने समस्या समाधानका लागि वैकल्पिक व्यापारिक नाका तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ। संघले चीनसँग स्थलमार्ग व्यापारलाई सहज बनाउन अन्य नाकामा पूर्वाधार निर्माण र कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको हो।

गत असार २४ गतेको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। उता, सिन्धुपाल्चोकको तातोपानी नाका पनि दुई सातादेखि ठप्प छ। दुवै नाका बन्द भएपछि चीनबाट आयात भएका सामान बोकेका सयौं ट्रक र कन्टेनर बाटैमै रोकिएका छन्।

संघका अनुसार आकस्मिक अवरोधले व्यापार मात्र नभई सरकारको राजस्व संकलन र उपभोक्तालाई सस्तो मूल्यमा वस्तु उपलब्ध गराउने प्रक्रियामा समेत ठुलो असर पारेको छ। त्यसैले कोरला, ओलाङचुङगोला, किमाथाङ्का, लामाबगर, आम्जापास, यारी हिल्सा र लार्केसहितका नाका छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ।

संघले स्मरण गराएको छ कि संसदको विकास समितिले २०७२ सालमै कोरला र ओलाङचुङगोला नाका सञ्चालन गर्न सकिने सिफारिस गरेको थियो। चीनतर्फ पूर्वाधार तयार भएकाले कोरला नाका वर्षभरि सञ्चालन गर्न सकिने अवस्थामा छ भने नेपालतर्फ पनि सडक पुगेको छ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढी र तातोपानी नाकाबाट ५० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको थियो।

संघले चाडपर्व नजिकिँदै गर्दा दुवै प्रमुख नाका बन्द भएकाले बजारमा आपूर्ति संकट, मूल्यवृद्धि र राजस्व गुम्ने जोखिम बढेको भन्दै उत्तरका थप नाका तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय