
नेपाल समुद्रपार निकासी पैठारी संघले उत्तरी नाका रसुवागढी र तातोपानी बर्सेनि वर्षायाममा बन्द हुने समस्या समाधानका लागि वैकल्पिक व्यापारिक नाका तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ। संघले चीनसँग स्थलमार्ग व्यापारलाई सहज बनाउन अन्य नाकामा पूर्वाधार निर्माण र कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको हो।
गत असार २४ गतेको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। उता, सिन्धुपाल्चोकको तातोपानी नाका पनि दुई सातादेखि ठप्प छ। दुवै नाका बन्द भएपछि चीनबाट आयात भएका सामान बोकेका सयौं ट्रक र कन्टेनर बाटैमै रोकिएका छन्।
संघका अनुसार आकस्मिक अवरोधले व्यापार मात्र नभई सरकारको राजस्व संकलन र उपभोक्तालाई सस्तो मूल्यमा वस्तु उपलब्ध गराउने प्रक्रियामा समेत ठुलो असर पारेको छ। त्यसैले कोरला, ओलाङचुङगोला, किमाथाङ्का, लामाबगर, आम्जापास, यारी हिल्सा र लार्केसहितका नाका छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ।
संघले स्मरण गराएको छ कि संसदको विकास समितिले २०७२ सालमै कोरला र ओलाङचुङगोला नाका सञ्चालन गर्न सकिने सिफारिस गरेको थियो। चीनतर्फ पूर्वाधार तयार भएकाले कोरला नाका वर्षभरि सञ्चालन गर्न सकिने अवस्थामा छ भने नेपालतर्फ पनि सडक पुगेको छ।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढी र तातोपानी नाकाबाट ५० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको थियो।
संघले चाडपर्व नजिकिँदै गर्दा दुवै प्रमुख नाका बन्द भएकाले बजारमा आपूर्ति संकट, मूल्यवृद्धि र राजस्व गुम्ने जोखिम बढेको भन्दै उत्तरका थप नाका तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।