
नुवाकोटको पन्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका एक किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ।
बुधबार बिहान ५८ वर्षीय गोकर्ण नेपालीलाई आफ्नो घरबारीमा पसेका बाँदर धपाउने क्रममा बाँदरको ठूलो फौजले आक्रमण गरेको स्थानीयवासीले जनाएका छन्। आक्रमणपछि अचेत बनेका उनलाई स्थानीयहरूले उद्धार गरी उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पन्चकन्या–२ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसयभन्दा बढी संख्यामा रहेका बाँदरहरूले अचानक आक्रमण गरेका थिए। सोही क्रममा गम्भीर घाइते भएका नेपाली अचेत भई ढलेका थिए।
स्थानीयवासीका अनुसार हालैका वर्षहरूमा खेतीबालीमा बाँदरको आतंक बढ्दो छ। किसानहरूले बारम्बार यस किसिमको समस्या उठाउँदै आएका भए पनि ठोस समाधान भने अहिलेसम्म आएको छैन।