
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशका केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको महाशाखाले जनाएको छ। बिहानैदेखि देशका धेरै भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको र कोशी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा भइसकेको पनि महाशाखाले जनाएको छ।
मौसमविद् गोविन्द झाका अनुसार शुक्रबार दिउँसो देशभरि नै बदली हुने र सातै प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भने भारी वर्षा पर्न सक्ने उनले बताए।
शुक्रबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। राति कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए।
उनका अनुसार भोलिदेखि भने मौसम केही सुधार हुने देखिएको छ। “मनसुनको समय भएकाले मध्यम वर्षा त भइरहन्छ, तर भोलि भारी वर्षाको सम्भावना कम देखिन्छ,” उनले स्पष्ट पारे।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।