
प्यालेस्टाइनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बास अर्को महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभा सत्रमा सहभागी हुन नपाउने भएका छन्।
अमेरिकी विदेश मन्त्रालयले अब्बाससहित ८० जना प्यालेस्टाइनी अधिकारीहरूको भिसा रद्द गरिएको जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीहरू शान्ति प्रयासलाई कमजोर पार्ने काममा संलग्न भएको र ‘काल्पनिक प्यालेस्टाइनी राज्यलाई एकतर्फी मान्यता दिन खोजेको’ आरोप लगाएका छन्।
अमेरिकाको यो निर्णयलाई इजरायलले स्वागत गरेको छ। तर, संयुक्त राष्ट्रसंघको मुख्यालयमा सहभागी हुन आउने देशका अधिकारीहरूको यात्रालाई सहज बनाउनुपर्ने सामान्य अभ्यास विपरीत भएकोले यसलाई असामान्य कदम मानिएको छ।
यो प्रतिबन्ध त्यस्तो समयमा आएको हो, जतिबेला फ्रान्सले संयुक्त राष्ट्रसंघ महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिलाउन अन्तर्राष्ट्रिय पहलको नेतृत्व गरिरहेको छ। अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन भने फ्रान्सको यस प्रयासको विरोध गर्दै आएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।