
गृहमन्त्री रमेश लेखकले भारतीय सञ्चारमाध्यमले नेपालबारे भ्रामक समाचार प्रसारण गरेको भन्दै कडा आपत्ति जनाएका छन्।
वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले नेपाल सरकारसँग पर्याप्त प्रमाण भएको तर भारत प्रवेश गरेका भनिएका व्यक्ति वास्तवमा मलेसिया गएको स्पष्ट पारे। उनले केही नेपाली सञ्चारमाध्यमले समेत सोही गलत सूचना दोहोर्याएको भन्दै आलोचना गरे।
“भारतीय सञ्चारमाध्यममा आएका खबर पूर्ण रूपमा भ्रामक र तथ्यहीन छन्। नेपाल सरकार मित्रराष्ट्र भारत वा चीनको हितविपरीत कुनै पनि गतिविधि हुन दिने छैन,” मन्त्री लेखकले भने।
उनले पाकिस्तानी वा बंगलादेशी नागरिक नेपाल हुँदै भारत प्रवेश गरेको भनिएको समाचारप्रति पनि कडा प्रतिवाद गर्दै त्यसमा कुनै सत्यता नरहेको दाबी गरे।
लिपुलेक–लिम्पियाधुरा विषयमा सरकारको अडान
मन्त्री लेखकले लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएको र यसको पर्याप्त प्रमाण नेपाल सरकारसँग रहेको दोहोर्याए। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला पनि चीनका राष्ट्रपति सी जिनपिङलाई यो विषयमा नेपालको आपत्ति प्रस्ट्याएको उनले जानकारी दिए।
सैन्य एकतामा सहभागी नहुने नेपाल
पत्रकारहरूको जिज्ञासामा जवाफ दिँदै मन्त्री लेखकले नेपाल कुनै पनि देशसँग सैन्यगत एकता वा समितिमा सहभागी नहुने स्पष्ट पारे। “हाम्रो नीति स्वतन्त्रता र असंलग्नतामा आधारित छ। कुनै पनि देशको दबाबमा नेपाल जान्ने छैन,” उनले भने।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।