
पाकिस्तान सीमासँगै जोडिएको दक्षिण–पूर्वी अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। ६.३ म्याग्निच्युडको भूकम्पले हजारौंलाई घाइते बनाएको अधिकारीहरूले जनाएका छन्।
बीबीसीका अनुसार सबैभन्दा बढी क्षति पहाडी कुनार प्रान्तमा भएको छ। धेरै गाउँहरू पूर्णरूपमा ध्वस्त भएका छन्। स्थानीय बासिन्दाले नुरगल क्षेत्रको मजार दारा गाउँ ९५ प्रतिशत ध्वस्त भएको बताएका छन्। उनका अनुसार “प्रत्येक घरमा पाँचदेखि १० जना घाइते भएका छन्।”
पहिले नै गम्भीर खडेरी, सहायता कटौती र भोकमरी संकटसँग जुझिरहेको अफगानिस्तानमा यो भूकम्प अर्को ठूलो विपत्ति बनेको हो। उद्धार प्रयास जारी छ तर हजारौं मानिसहरू खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन्।
अधिकारीहरूले मृत्यु संख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्। दुर्गम क्षेत्रमा उद्धार टोली पु¥याउन कठिनाइ भएको र उपचारमा समस्या भएको जनाइएको छ।
यसबीच, चीन, भारत, बेलायत र स्विजरल्याण्डलगायतका राष्ट्रहरूले तत्काल सहयोगको घोषणा गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।