२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। महाधिवेशनमा पार्टीले प्रस्तुत गरेको विचार दस्तावेज, विधान संशोधन प्रस्ताव, राजनीतिक तथा संगठनात्मक प्रतिवेदनलगायत विषयमाथि विस्तृत छलफल हुनेछ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित २,३४१ जना सहभागी हुनेछन्। पहिलो दिन प्रतिवेदनमाथिको छलफलका लागि प्रतिनिधिहरुलाई १० समूहमा विभाजन गरिने एमाले प्रचार विभागले जनाएको छ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्का अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।

कार्यक्रमस्थल र वरिपरि व्यापक तयारी गरिएको छ। सातदोबाटोदेखि गोदावरीसम्मको सडक खण्डमा करिब १८ स्वागतद्वार बनाइएका छन् भने बिजुलीका खम्बामा हसिया–हथौडा र सूर्य अंकित झण्डा सजाइएका छन्। हलभित्र पार्टी संस्थापक तथा नेताहरूका तस्बिरसँगै मार्क्स, एङ्गेल्स र लेनिनका पूर्णकद चित्र राखिएका छन्।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु हुने एमालेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय