
बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो स्वरूप देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देशभरका शक्तिपीठ तथा दशैंघरहरूमा भक्तजनले देवीको उपासना गरिरहेका छन्।
शिरमा अर्धचन्द्र र हातमा घण्ट धारण गर्ने भएकाले देवीलाई चन्द्रघण्टा नाम दिइएको हो। धार्मिक ग्रन्थअनुसार पहेंलो वर्णकी यी देवीले आसुरी शक्तिको नाश गर्ने मानिन्छ। शान्त र करुणामयी स्वरूपकी चन्द्रघण्टाको साधनाले साधकमा शक्ति, चमक र निर्भयता प्राप्त हुने विश्वास गरिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार चन्द्रघण्टा देवीको आराधनाले मणिपुर चक्र जागृत हुने बताइन्छ। विशेषगरी गीत–संगीत र कला क्षेत्रमा संलग्न साधकहरूले देवी चन्द्रघण्टाको विशेष पूजा गर्ने परम्परा रहेको छ। भक्तजनको विश्वासअनुसार यिनको कृपाले पाप नाश हुने र जीवनमा ऐश्वर्य प्राप्त हुन्छ।
नवरात्रको पहिलो दिन घटस्थापनासहित शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणीको पूजा सम्पन्न भइसकेको छ। आज चन्द्रघण्टाको पूजा भइरहेको छ भने बाँकी दिनहरूमा क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिनेछ।
नवरात्रभरि दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने प्रचलन छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरू भएको नवरात्र विजयादशमी हुँदै कोजाग्रत पूर्णिमासम्म १५ दिनसम्म विशेष उत्साहका साथ मनाइन्छ। देशभरका शक्तिपीठहरूमा आजैदेखि भक्तजनको भीड बढ्दो छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।