
नेपाली काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना हुँदै आएको परम्परागत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नगर्ने निर्णय गरेको छ।
वि.सं. २०३३ सालमा निर्वासनबाट फर्किएका जननायक बी.पी. कोइरालाले ल्याएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीतिपश्चात् काँग्रेसले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको थियो। तर, गत भदौ २३ र २४ गतेको अप्रत्याशित राजनीतिक घटनाक्रमले मुलुकलाई गहिरो शोकमा डुबाएको भन्दै यस वर्षको कार्यक्रम स्थगित गरिएको हो।
आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएका थिए। साथै राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, पार्टीका ऐतिहासिक संरचना तथा व्यावसायिक प्रतिष्ठानमा आक्रमण, लुटपाट र आगजनी भएको काँग्रेसले जनाएको छ। सो क्रममा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित नेतामाथि पनि सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।
काँग्रेसले जारी गरेको सूचनामा भनिएको छ, “यो विषम परिस्थितिमा मुलुक शोकमा डुबेको छ। यतिबेला राष्ट्रिय एकता र मेलमिलाप अझै जरुरी छ।”
पार्टीले कार्यालयमा समेत आगजनी र ध्वंससहितको अवस्थाका कारण पनि यस वर्षको चियापान नगर्ने निर्णय गरेको स्पष्ट पारेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।