जेनजी प्रदर्शनका क्रममा देशभरका कारागार र सुधारगृहहरूबाट भागेका कैदीबन्दीमध्ये करिब ५ हजार ७ सय अझै फरार रहेका छन्। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ८ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल ८ हजार ८५१ जना पुनः कारागार फर्किएका छन्, तर ५ हजार ७९ कैदी र ६१८ बालबन्दी अर्थात् ५ हजार ६९७ जना अझै पक्राउ बाहिर छन्।
जेनजी प्रदर्शन चर्किँदा मुलुकका २८ वटा कारागार र ९ वटा बालसुधारगृहबाट १४ हजार ५५३ बन्दी भागेका थिए। तीमध्ये अधिकांशलाई सुरक्षा निकायले नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा बुझाइसके पनि अझै ठूलो सङ्ख्यामा फरार छन्।
गृह मन्त्रालयले असोज १० गतेसम्म सबै फरार कैदीबन्दीलाई स्वेच्छाले कारागार फर्कन ‘अल्टिमेटम’ जारी गरेको थियो। तर सो समयसीमा सकिँदा पनि हजारौं बन्दी फरार नै रहेपछि सरकारले विशेष खोजी अभियान सञ्चालन गरेको छ।
मन्त्रालयले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरेको छ, जसको संयोजक सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन्। उक्त कार्यदलमा सुरक्षाकर्मी र सम्बन्धित निकायका प्रतिनिधि सदस्य छन्, जसले देशभर खोजी, नियन्त्रण र कारागार फिर्ता अभियान सञ्चालन गरिरहेका छन्।
प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर लगायतका कारागारबाट कैदी भागेका थिए। त्यसैगरी मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटीका बालसुधारगृहबाट ९६३ बालबन्दी फरार भएका थिए।
भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो। त्यस्तै नौवस्ता बालसुधार गृहमा भएको झडपमा पाँच बालबन्दीको ज्यान गएको थियो।
कारागार कार्यालयहरूले फरार कैदीबन्दीहरूलाई अविलम्ब स्वेच्छाले फर्कन आग्रह गर्दै आएका छन्। स्वेच्छाले नफर्किनेहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ।
हाल देशका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६ सय ४६ कैदीबन्दी छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पूर्वी रुकुममा भने कारागार छैन।