नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी संविधान, लोकतन्त्र र जनताको अधिकारको रक्षाका लागि बृहत एकतासहित अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण दलको ७३औं स्थापना दिवसका अवसरमा बोल्दै खड्काले विगतका कमजोरी स्वीकार गर्दै कांग्रेस नयाँ उत्साह र ऊर्जासहित पुनर्गठनको यात्रामा अघि बढ्ने बताए। उनका अनुसार देश र जनताले पुनः कांग्रेसबाट अपेक्षा र आशा गरेका छन्, जसका लागि एकता र संगठन सुदृढ गर्नु आजको मुख्य आवश्यकता हो।
खड्काले भने, “विगतको इतिहासजस्तै फेरि जनताले कांग्रेसबाट भरोसा गरेका छन्। त्यसकारण हामी संविधानको रक्षा, परिवर्तनको संरक्षण र जनताको अधिकारका लागि एकताबद्ध भएर अघि बढ्न तयार छौं।”
उनले नेपाली कांग्रेसका युवा संगठनहरूलाई लोकतन्त्रको रक्षा र देशको स्थायित्वका लागि एकपटक फेरि संगठित हुन आह्वान गरे। तरुण दलको झण्डा बोकेर जनताको अधिकारका पक्षमा उभिनु आजको जिम्मेवारी भएको उनको भनाइ थियो।
“हामीले तरुण दलमार्फत मुलुकभरका युवालाई आह्वान गर्नुपर्छ — लोकतन्त्र, राष्ट्रिय एकता र जनअधिकारको रक्षाका लागि एकजुट बनौं,” उनले जोड दिए।
यस अवसरमा खड्काले भदौ २३ र २४ गते भएका घटनाबारे पनि टिप्पणी गर्दै त्यसले देशलाई अस्थिर बनाएको बताए। उनका अनुसार, सो घटनामा जनजीवन प्रभावित मात्र नभई देशको कार्यपालिका नै आक्रमणमा परेको थियो, जसले लोकतान्त्रिक मूल्यमा चुनौती सिर्जना गर्यो।
उनले भने, “भदौ २३ गते सुरु भएको आन्दोलनमा युवाले ज्यान गुमाए, २४ गते भौतिक र मानवीय क्षति भयो। पहिलो पटक कार्यपालिका माथि आक्रमण भयो, जसले देशलाई प्रतिकूल दिशामा धकेल्यो।”
कार्यक्रममा उपस्थित तरुण दलका प्रतिनिधिहरूले पार्टीभित्रको एकता, नेतृत्वमा विश्वास र लोकतान्त्रिक मूल्यप्रति समर्पण व्यक्त गर्दै संगठन सुदृढीकरणमा लाग्ने प्रतिवद्धता जनाए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
