बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको असरले निरन्तर वर्षा भोगिरहेको देशभर आज साँझदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसोसम्म कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुने अनुमान गरिएको छ।
साथै कोशी, वाग्मती र गण्डकीका उच्च पहाडी भूभागमा मध्यमदेखि भारी हिमपातको पूर्वानुमान गरिएको छ। वर्षा र हिमपातका कारण यातायातमा अवरोध र कृषि गतिविधिमा असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले भनेको छ, “चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै गइरहेकाले आज साँझपछि देशभर मौसममा सुधारको क्रम सुरु हुनेछ।”
मौसम स्थिर हुँदै गएपछि भोलिदेखि धेरै स्थानमा आंशिक बदली मात्र रहने अनुमान गरिएको छ।
