नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको टुंगो निकाल्ने उद्देश्यले पदाधिकारी र पूर्वपदाधिकारीहरुको आज दिउँसोका लागि महत्वपूर्ण बैठक आह्वान गरेका छन्। बैठक दिउँसो १ बजे देउवाको महाराजगञ्जस्थित निवासमा बस्नेछ।
पार्टीभित्र महाधिवेशनका विषयमा देखिएको दुई धारलाई एकीकृत गर्न र नियमित महाधिवेशन प्रक्रियालाई अगाडि बढाउन सभापति देउवा सक्रिय भएका स्रोतले जनाएको छ। सिंगापुर उपचारमा जानुअघि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका थिए। तर पार्टीभित्र बढ्दो विवाद समाधान गर्ने खड्काको प्रयास सफल नदेखिएपछि देउवा स्वयं सक्रिय हुनुपर्ने परिस्थिति आएको हो।
विशेषगरी संस्थापनइतर समूहले संस्थापन पक्षलाई कमजोर बनाउने रणनीति अघि बढाएपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू सक्रिय रूपमा अघि बढेपछि पार्टीमा देखिएको असन्तुलन मिलाउने पहल सभापति देउवाले हातमा लिएको बताइन्छ।
आजको बैठकमा नियमित महाधिवेशन वा विशेष महाधिवेशनबारे ठोस एजेन्डा उठाइनेछ। बैठकमा वरिष्ठ नेता डा. शेखर कोइराला तथा पूर्व गृहमन्त्री रमेश लेखक समेत सहभागी हुनेछन्। शनिबारको छलफलमा पनि देउवाले निर्वाचनअघि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा स्पष्ट धारणा राखिसकेका थिए।
पार्टीभित्र फैलिएको विवाद अन्त्य गर्न अब देउवाकै नेतृत्वले निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। सभापति सक्रिय बनेसँगै कांग्रेसको महाधिवेशन विषय केही दिनमै मार्गनिर्देशन हुने आशा कार्यकर्ताहरुले व्यक्त गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
