नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई शनिबार ८ विकेटले हराउँदै प्रतिष्ठाका लागि महत्वपूर्ण जित हात पारेको छ।
चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। पोखराका लागि ओपनर एडम रोसिङटनले ४८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६५ रन बनाउँदै अर्धशतक पुर्याए। अर्जुन कुमालले ५३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित ४३ रन बनाए। रोसिङटन र कुमालले पहिलो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए।
पोखराका कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए भने जेसन रोय ६ रनमा अविजित रहे। बलिङतर्फ चितवनका सैफ जैब र रिजन ढकालले समान एक/एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो। चितवनका लागि देव खनालले ३५ रन र कप्तान कुशल मल्लले २३ रन जोडे। एनपीएलमा पहिलो खेल खेल्दै गरेका युगान्डाका अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन बनाए।
पोखराका धनन्जय लक्षनले ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। साथै विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान १/१ विकेट लिए।
पोखराले यस जितसहित ७ खेलबाट ६ अंक जोड्दै पाँचौं स्थानमा लिग समाप्त गरेको छ, जबकि चितवनले ७ खेलमा ४ अंक जोड्न सफल भएको छ। आइतबार हुने लिग अन्तिम खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच अन्तिम स्थान निर्धारण हुनेछ।
