लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको सवारी दुर्घटनामा संलग्नता रहेको कुरा ब्रिटिस र्यापर क्लार्क स्यामुयल—गेट्सले औपचारिक रूपमा स्वीकार गरेका छन्। महानगरीय प्रहरीले सार्वजनिक गरेको विवरणले घटनाको गम्भीरता र तीव्र गतिका कारण भएको क्षतिलाई फेरि एकपटक सतहमा ल्याएको छ।
प्रहरीका अनुसार स्यामुयलले गति सीमा ३० माइल प्रतिघण्टा तोकिएको सडकमा करिब दोब्बर गतिमा गाडी चलाइरहेका बेला २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई ठक्कर दिएका थिए। इल्फोर्डको रेडब्रिज क्षेत्रमा गत अक्टोबर १८ राति करिब ११ः३० बजे भएको दुर्घटनापछि स्यामुयल घटनास्थलमै नअड्किएर फरार भएका थिए।
दमदार र्याप क्यारियर बनाइरहेका स्यामुयलको बेपत्ता कार भोलिपल्ट बिहानै प्रहरीले वुडफोर्डस्थित घरबाट क्षतिग्रस्त अवस्थामा फेला पारेपछि उनी अनुसन्धानको घेरामा आएका थिए। ठक्करपछि दुई दिनसम्म उपचारमा रहेका तामाङलाई बचाउन चिकित्सकहरू असफल भएका थिए।
युविन तामाङ पछिल्लो वर्ष मात्र बेलायत पुगेका थिए र युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बीएस्सी बिजनेस म्यानेजमेन्ट’को दोस्रो वर्षमा अध्ययनरत थिए। निरीक्षक मार्क ब्रथवेटले दुर्घटनालाई “अपरिवर्तनीय मानवीय क्षति” भन्दै अपराध स्वीकार हुनु न्यायप्राप्तिको महत्वपूर्ण चरण भएको टिप्पणी गरे।
लन्डनस्थित नेपाली दूतावास पनि घटनापछिका कानुनी प्रक्रियामा सक्रिय छ। कार्यवाहक राजदूत विपिन दुवाडीले दोष स्वीकार भएको कदम पीडित परिवारका लागि राहतको विषय भएको बताए।
अदालतले अब आगामी माघ २९ गते (फेब्रुअरी १३) स्यामुयललाई सजाय सुनाउने तयारी गरेको छ। पीडित परिवार र समुदायले अब न्यायिक प्रक्रियाले दोषीलाई उचित कारबाही गर्ने अपेक्षा राखेका छन्।
