नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिजमा भएको अनियमिततासम्बन्धी प्रकरणमा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बुधबार पूर्वसचिव अर्जुनबहादुर कार्कीसहित चार जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको हो।
उक्त मुद्दामा तत्कालीन सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङ कम्पनीलाई समेत प्रतिवादी बनाइएको छ। दरबारमार्गमा रहेको एक रोपनी १४ आना जग्गा लिजमा दिँदा अनियमितता भएको ठहर गर्दै मुद्दा अघि बढाइएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरी गत साता नै सरकारी वकिल कार्यालयलाई अभियोजनका लागि फाइल बुझाएको थियो। सिआइबीले संगठित अपराध र आपराधिक विश्वासघातसमेतका कसुरमा मुद्दा चलाउन सिफारिस गरे पनि सरकारी वकिल कार्यालयले ठगीसम्बन्धी कसुरमा मात्र अभियोगपत्र दर्ता गरेको छ।
प्रतिवादी बनाइएका ल्हाक्पा सोनाम शेर्पाको बयान नलिइकनै मुद्दा दायर गरिएको छ। उनलाई पक्राउ नगर्न उच्च अदालतबाट स्टे अर्डर जारी भएकाले उनी हाल पक्राउ परेका छैनन्। यता तत्कालीन सचिव र सहसचिवलाई भने पक्राउ गरी अदालतमा पेस गरिएको छ।
अभियोगपत्रअनुसार बोलपत्र प्रक्रियामै सम्झौता रकम घटाएर चार अर्ब ८६ करोड २५ लाख रुपैयाँ बराबरको नोक्सान पुर्याइएको उल्लेख छ। साथै तीन तला निर्माण गर्ने सम्झौता भए पनि पाँच तला बनाइएकाले त्यसबाट नेपाल ट्रस्टलाई ३८ करोड ८४ लाख ५३ हजार रुपैयाँ घाटा भएको भन्दै सो रकमलाई पनि बिगोमा समेटिएको छ। बाटो प्रयोजनका लागि तीन आना जग्गा प्रयोग गरिएको भन्दै थप ५३ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरिएको छ।
यसै प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्यले तारा एयरमार्फत बालकोटमा घर लिएको विवरण खुलेपछि त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गर्न सिआइबीले राय दिएको छ। तर सो विषयमा सरकारी वकिल कार्यालयले हालसम्म कुनै निर्णय गरेको छैन।
