नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। मतदान सकिएसँगै भृकुटीमण्डपमा मतगणनाको अन्तिम तयारी तीव्र बनाइएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार प्राविधिक प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिनेछ र गणना सुरु भएको करिब तीन घण्टाभित्र सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी गरिएको छ।
नयाँ नेतृत्व चयनका लागि कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मतदान गरेका छन्। ३६ जना प्रतिनिधि भने विभिन्न कारणले मतदानमा सहभागी हुन सकेनन्। बुधबार बिहान ९ बजेर १२ मिनेटदेखि सुरु भएको मतदान विद्युतीय प्रणालीमार्फत सम्पन्न गरिएको थियो, जसका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएका थिए।
मतगणना यसरी हुँदैछ
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतगणना अघि सबै मेसिनको प्राविधिक प्रक्रिया पूरा गरिँदैछ।
प्रत्येक विद्युतीय मेसिनको छुट्टाछुट्टै मुचुल्का तयार गरिनेछ। त्यसपछि प्रतिनिधि संख्या र खसेको मत संख्या ट्याली गरिन्छ। मत संख्या मिलिसकेपछि मेसिन लक गरिनेछ र मेसिनभित्र रहेका चिप्स निकालेर अलग–अलग खाममा सिलबन्दी गरिनेछ।
सबै मेसिनबाट संकलन गरिएका चिप्सका खामलाई पुनः नम्बरिङ गरी एउटै प्याकेटमा राखिनेछ।
उम्मेदवारका प्राविधिक प्रतिनिधि, उम्मेदवार पक्षका एक–एक प्रतिनिधि, मेसिनका प्राविधिक र निर्वाचन आयोगका प्रतिनिधिको रोहबरमा मतगणना सुरु गरिनेछ। मतगणना सम्पन्न भएपछि परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रमसमेत भृकुटीमण्डपमै गर्ने तयारी छ।
चिप्स निकाल्ने काम अन्तिम चरणमा
निर्वाचन आयोगका अनुसार ८० विद्युतीय मेसिनमध्ये ७० वटाबाट चिप्स निकाल्ने काम सकिएको छ भने बाँकी १० वटा मेसिनको चिप्स निकाल्ने प्रक्रिया जारी छ। सबै चिप्स संकलन भएपछि सेन्टर कलेक्सन गरी सर्वपक्षीय बैठक बसाइनेछ।
सो बैठकपछि मात्रै सबै पदको नतिजा एकैसाथ सार्वजनिक गरिने आयोगले जनाएको छ। आयोगको तयारीअनुसार करिब बिहान ११ बजेतिर परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।
नेतृत्व चयनमा कडा प्रतिस्पर्धा
यस महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। यसका लागि ६ सय ४२ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।
महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ भने अन्य पदाधिकारी पदहरूमा पनि दुवै पक्षका प्यानल सहभागी छन्। केही उम्मेदवार भने प्यानलबाहिर स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा रहेका छन्।
३६ प्रतिनिधिले मतदान गरेनन्
यसपटक महाधिवेशनमा शतप्रतिशत मतदान हुन सकेन। ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित रहे।
तीमध्ये केन्द्रीय कमिटी, विभिन्न आयोग, विभाग, जिल्ला तथा प्रवासबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू रहेका छन्। विशेष रूपमा केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफूले ‘नो भोट’को सदुपयोग गरेको भन्दै मतदान नगरेको सार्वजनिक अभिव्यक्ति दिएका छन्। उनी प्रेस चौतारी नेपालका पूर्वअध्यक्षसमेत हुन्।
एमाले फुट्छ भन्ने प्रश्न खारेज
मतगणनास्थलमै सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै निवर्तमान सचिव तथा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले महाधिवेशनपछि एमाले फुट्छ भन्ने आशंकालाई पूर्ण रूपमा खारेज गरेका छन्।
उनले निर्वाचनपछि पार्टी झनै एकताबद्ध र बलियो भएर जनतामाझ जाने दाबी गरे। “यो महाधिवेशनबाट एमाले फुट्छ भन्ने सोच राख्नेहरूको हातमा केही पर्दैन,” उनले भने, “परिणाम आएपछि पार्टी अझ बढी मिलेको देखिनेछ।”
मतदान सकिएसँगै अहिले भृकुटीमण्डपमा सबैको ध्यान मतगणना र अन्तिम परिणामतर्फ केन्द्रित भएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगले पारदर्शी, व्यवस्थित र विश्वासयोग्य ढंगबाट मतगणना सम्पन्न गरी समयमै नयाँ नेतृत्वको घोषणा गर्ने प्रतिबद्धता जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
