सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्क राईविरुद्ध निर्वाचनमा बालबालिकाको प्रयोग गरेको आरोपसहित निर्वाचन आयोगमा उजुरी परेको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले चुनावी प्रचार–प्रसारमा बालबालिकालाई प्रयोग गरेको भन्दै धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २ अन्तर्गत दफा ७ को उपदफा (७) अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहे पनि उम्मेदवार राईले सो प्रावधान उल्लङ्घन गरेको उल्लेख गरिएको छ। सञ्जालले राईलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई छलफल गर्न तथा आचारसंहिता उल्लङ्घनमा आवश्यक कारबाही गर्न माग गरेको छ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन गरिएको छ। उक्त समितिले उजुरीको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले बताए। ऐनअनुसार बालबालिकाको प्रयोग गरेको पुष्टि भएमा एक लाख रुपैयाँसम्म जरिवाना तथा उम्मेदवारी दर्ता खारेज हुन सक्ने व्यवस्था रहेको छ। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुँदै छ।
यस्तै, निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयमाथि पनि छानबिन भइरहेको छ। निर्वाचन अवधिमा करारका कर्मचारी नियुक्ति गरेको विषयमा आयोगले कारबाही अघि नबढाएको भन्दै आलोचना हुन थालेको छ।
गत कात्तिकमा करार कर्मचारी नियुक्तिका लागि सूचना प्रकाशित गरी माघ १० गते परीक्षा सञ्चालन गरिएको र सोही दिन राति नै परीक्षाफल सार्वजनिक गरिएको थियो। उक्त प्रक्रिया निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै प्रदेश निर्वाचन कार्यालय विराटनगर, मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आयोगमा उजुरी परेको थियो।
निर्वाचन आयोगका कानुन उपसचिव सिता पुनले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी निवेदनमाथि छानबिन भइरहेको जानकारी दिइन्। पूर्वाञ्चल विश्वविद्यालयले निर्वाचन आचारसंहिता २०८२ को दफा १० उल्लङ्घन गरेको भन्दै उजुरी परेको र सोही आधारमा आयोगमा कारबाहीका लागि सिफारिस गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताए।
उनका अनुसार आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीमाथि कानुनअनुसार कारबाही गरिनेछ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
