२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। उनले काठमाडौं–५ को विकास र नीतिगत सुधारका लागि आफ्ना योजना सार्वजनिक गरेका हुन्।

पौडेलले यसअघि यही क्षेत्रबाट सांसदमा निर्वाचित हुँदा गरेका प्रतिबद्धता पूरा गर्न आफूले सांसद र स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा इमान्दारीपूर्वक प्रयास गरेको बताए। चक्रपथको दोस्रो खण्ड अगाडि बढाउन दबाब दिएको, सामाखुसी–टोखा सडक, विष्णुमती करिडोर र साङ्लेखोला करिडोरजस्ता योजनामा काम अघि बढेको उनको भनाइ छ।

उनले क्षेत्रका सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कुल’ बनाउने योजना अघि सारेका छन्। साथै विद्यालयमा नेवारी, तामाङजस्ता स्थानीय मातृभाषा तथा मौलिक सीप र ज्ञानलाई शिक्षणमा समावेश गर्न स्थानीय तहसँग सहकार्य गरिने बताएका छन्।

सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने र यसलाई योगदानमा आधारित राष्ट्रिय कार्यक्रमका रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ। बीमाको सुविधा विस्तारका लागि आवश्यक नीति निर्माणमा पहल गर्ने पनि उनले उल्लेख गरेका छन्।

क्षेत्र नम्बर ५ लाई ‘मेडिकल हब’का रूपमा विकास गर्ने योजना पनि उनले अघि सारेका छन्। त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरी अस्पतालजस्ता केन्द्रीय अस्पतालहरूको क्षमता विस्तार गर्ने उनले बताएका छन्।

व्यवसायमैत्री कानुन निर्माणका लागि संघीय संसद्मार्फत पहल गर्ने र व्यवसाय दर्ता तथा बन्द प्रक्रियालाई सहज बनाउने उनको प्रतिबद्धता छ।

युवालाई लक्षित गर्दै एआई र डिजिटल मार्केटिङजस्ता विषयमा उच्चस्तरीय तालिम सञ्चालन गरी क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’ बनाउने योजना उनले सार्वजनिक गरेका छन्।

प्रतिज्ञापत्रमा भूमिविहीनको पहिचान गरी लालपुर्जा वितरणलाई गति दिने उल्लेख छ। साथै हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, टुँडाल, धुम्बाराही र अजिमालगायत ऐतिहासिक क्षेत्रलाई खुला संग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना छ।

टोखाको बिस्का नखः, पाँहाचह्रे र हाँडीगाउँको चोखःते नारायणजात्राजस्ता सांस्कृतिक परम्पराको ब्रान्डिङ गर्दै पर्यटन प्रवर्द्धन गर्ने पनि प्रतिज्ञापत्रमा समेटिएको छ।

टुकुचा, धोबिखोला, सामाखुसी र साङ्ला खोलाको ढल व्यवस्थापन सुधार गर्दै सहरी डुबान समस्या समाधानका लागि ‘स्ट्रोम वाटर ड्रेनेज’ प्रणाली बनाउने उल्लेख छ।

टोखा–छहरे सुरुङमार्ग र रसुवा–केरुङ राजमार्गलाई व्यापारिक लाइफलाइनका रूपमा विकास गर्न पहल गर्ने उनले बताएका छन्। चक्रपथ विस्तार, नारायणगोपाल चोकमा अन्डरपास र फ्लाइओभर तथा सामाखुसी–विष्णुमती करिडोरको स्तरोन्नति पनि प्राथमिकतामा राखिएको छ।

विश्वविद्यालयमार्फत अनुसन्धान र विकासलाई प्रोत्साहन गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीतिनिर्माणमा नेतृत्व लिने र नेपालमै ‘लार्ज ल्याङ्ग्वेज मोडल’ विकासका लागि पूर्वाधार तयार गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।

त्यस्तै, धनेश्वर खेलमैदानलाई राष्ट्रियस्तरको बनाउने र भूत्हया दह क्षेत्रको ११४ रोपनी सरकारी जग्गामा पिकनिक स्पट तथा ध्यान केन्द्र विकास गर्ने योजना पनि प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय