
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले आगामी निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौती नदेखिएको जनाएको छ।
मंगलबार निर्वाचन आयोगमा बसेको समितिको बैठकले देशभर शान्ति सुरक्षा अवस्था सन्तोषजनक रहेको र निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको निष्कर्ष निकालेको हो। बैठकमा विभिन्न सुरक्षा निकायका प्रमुखहरूले मुलुकको वर्तमान सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठकमा सम्भावित सुरक्षा चुनौती र त्यसको समाधानबारे छलफल भएको थियो। सुरक्षा निकायले राजनीतिक दलहरूलाई शान्तिपूर्ण रूपमा गतिविधि गर्न र मतदातालाई निर्भय भएर मतदान गर्न अनुकूल वातावरण रहेको जानकारी गराएको उनले बताए।
केही स्थानमा भएका सानातिना घटनामा स्थानीय प्रशासन सक्रिय हुँदा कुनै अप्रिय अवस्था सिर्जना हुन नपाएको पनि उनले उल्लेख गरे। देशभर चुनावी माहोल क्रमशः बढ्दै गएको प्रवक्ता भट्टराईको भनाइ छ।
मतदानका दिन नागरिकलाई सहज रूपमा घर जान र फर्कन सुविधा मिलोस् भन्ने उद्देश्यले आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको पनि उनले जानकारी दिए। यसले मतदानमा सक्रिय सहभागिता बढ्ने विश्वास आयोगले लिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
