
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आफू प्रश्नभन्दा बाहिर नरहेको स्पष्ट पारेका छन्।
बिहीबार गोरखा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यो देशमा कोही पनि प्रश्नभन्दा माथि वा बाहिर नरहेको बताए। “यो देशमा प्रश्नभन्दा बाहिर र माथि कोही पनि छैन, जसले जतिखेर जहाँ उभिएर प्रश्न गरे पनि हुन्छ,” उनले भने, “न म प्रश्नभन्दा बाहिर र माथि छु, न सुदन गुरुङ प्रश्नभन्दा बाहिर र माथि छन्।”
गोरखा–१ बाट रास्वपाका उम्मेदवार सुदन गुरुङको प्रचारका लागि गोरखा पुगेका लामिछानेले गुरुङलाई जसरी पनि सदनमा पुर्याउने दाबी गरे। “सुदन गुरुङ सदनमा जाला भनेर अहिलेदेखि नै भ्रष्टाचारीको जिउ काँपेको छ। सुदन गुरुङलाई सदनमा लिएरै जान्छौँ,” उनले भने।
उनले गोरखाबाट धेरै उम्मेदवार विजयी भए पनि गोरखाले भने जित्न नसकेको उल्लेख गर्दै यसपटक गोरखाले जित्नुपर्ने धारणा राखे। “यस पटक गोरखाले जित्नुपर्छ, सुदनले जित्नुपर्छ,” उनले जोड दिए।
प्रतिनिधि सभा निर्वाचनको प्रचार अभियानअन्तर्गत लामिछाने बिहीबार गोरखा पुगेका हुन्। उनले आज गोरखाका विभिन्न स्थानमा आयोजना हुने चुनावी कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
