
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेपछि प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने तालिका रहेको बैठक दुईपटक सारेर भोलि दिउँसो १ बजेका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।
प्रतिपक्षी दलले यस प्रकरणमा तीन बुँदे निष्कर्ष प्रस्तुत गरेको छ:
पहिलो: उच्चस्तरीय छानबिन समिति गठन गरी श्रम ऐन २०६४ लागू भएयताको अवधिदेखि हालको गृहमन्त्रीको कार्यकालसम्मको “भिजिट भिसा प्रकरण” को विस्तृत छानबिन गर्ने र यसलाई सधैंका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने।
दोस्रो: आवश्यक छानबिनका लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म अनुसन्धानलाई प्रभावित नगर्न राजीनामा दिएर सहयोग गर्नुपर्ने।
तेस्रो: यस विषयमा जिम्मेवारी लिन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यस प्रकरणमा प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो विषय विगतदेखि चल्दै आएकाले गहिरो अनुसन्धान आवश्यक रहेको बताए।
“यसमा अनुसन्धान गर्दा कर्मचारी, मन्त्री, नेता जो पनि संलग्न भए पनि त्यसमा अनुसन्धान गरेर जानुपर्छ,” शर्माले भने।
उनले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका कर्मचारीहरूमाथि अनुसन्धान गरिरहेको र यदि अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने उनले पद त्याग गर्नुपर्ने बताए।
महामन्त्री शर्माले अहिले गृहमन्त्रीमाथि कुनै प्रत्यक्ष उजुरी नपरेको दाबी गर्दै अघिल्लो गृहमन्त्रीको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको टिप्पणी गरे।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेको भन्दै उनलाई जवाफ दिने मौका दिनुपर्ने बताएका छन्।
आजको बैठक बिहान ११ बजे बस्ने तालिका थियो। दलहरूबीच छलफल जारी भएपछि संसद् सचिवालयले पहिले दिउँसो २ बजेसम्मका लागि सारेको थियो। तर २ बजे पनि बैठक बस्न नसकेपछि भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
सभामुखको पहल
सदनको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसहितका नेताहरूसँग संयुक्त रूपमा दुईपटक छलफल गरेका थिए। तर विपक्षी दलले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि बैठक सञ्चालन हुन सकेन।
प्रतिपक्षी दलहरूले आफ्नो तीन बुँदे निष्कर्ष लिएर सभामुख घिमिरेले डाकेको बैठकमा सहभागी भएका थिए, तर उक्त बैठकमा पनि कुनै सहमति जुट्न सकेन।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।