
आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष निकालिएको छ।
जियोकले मतदान तयारी, राजनीतिक दलको सहभागिता, सहयोग र समन्वय, निर्वाचनका चुनौती, आयोगको तयारी र सुरक्षा अवस्थाबारे अध्ययन गरेको जनाएको छ। राजनीतिक दल, मतदाता, उम्मेदवार, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको भेटघाट तथा कुराकानीका आधारमा प्रतिवेदन तयार गरिएको जियोकका महासचिव कृष्णमान प्रधानले जानकारी दिएका छन्।
प्रतिवेदनमा समग्रमा निर्वाचन शान्तिपूर्ण, स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने आधार तयार भएको उल्लेख छ।
निर्वाचनको राष्ट्रिय पर्यवेक्षणका लागि खटिएका प्राध्यापक चिरञ्जीवी खनालले निर्वाचन तयारी तीव्र रूपमा अघि बढिरहेको, कर्मचारी मतदानस्थलमा पुगिसकेको, मतदान केन्द्र निर्माण भइरहेको र सुरक्षा निकाय जिम्मेवारीपूर्वक तैनाथ भएको जानकारी दिएका छन्। विगतमा राजनीतिक दल र उम्मेदवारले ठूला आमसभा र जुलुस गर्ने गरेकामा यसपटक भने गाउँटोलमै पुगेर भेटघाट गरेको पाइएको उनले बताएका छन्।
जियोकका राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण रहेको र आवश्यक स्रोतसाधनसहित कर्मचारी मतदानस्थल पुगिरहेको जानकारी दिएका छन्। मतदाता, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीसमेत निर्वाचन शान्तिपूर्ण हुनेमा ढुक्क रहेको उनले बताएका छन्। हालसम्मको अध्ययनले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनको वातावरण बनेको निष्कर्ष निकालिएको छ।
अर्का राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा. मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय र वडा कार्यालय भवनमा रहेकाले समग्रमा मतदातामैत्री रहेको बताएका छन्। जियोकले सातै प्रदेशमा राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनपूर्वको अवस्थाबारे जानकारी लिएको जनाएको छ।
प्रतिवेदनमा जिल्लास्तरमा एकीकृत सुरक्षा योजना कार्यान्वयन भइरहेको, प्रशासनिक र सुरक्षात्मक तयारी सन्तोषजनक रहेको र दलहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण रहेको उल्लेख छ।
देशभर मतदान केन्द्रमा सामग्री र कर्मचारी खटाइ योजनाअनुसार सम्पन्न भएको प्रतिवेदनमा जनाइएको छ। उम्मेदवारको घरदैलो तथा चुनावी प्रचारप्रसार पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख छ। जियोकले ३६ जिल्लाका २५० स्थानीय तहमा ४०० जना निर्वाचन पर्यवेक्षक खटाएको जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
