
एक समय सरकार गठनका लागि अपरिहार्य मानिने ‘म्याजिक नम्बर’का रूपमा चिनिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कमजोर राजनीतिक अवस्थामा पुगेका छन्।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चामत्कारिक मत प्राप्त गर्दै पहिलो पार्टी बनेको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा झन्डै दुईतिहाइ सिट जित्दै रास्वपाले स्पष्ट वर्चस्व कायम गर्दा पुराना राजनीतिक शक्तिहरू भने खुम्चिएका छन्। यस अवस्थाले माओवादी पृष्ठभूमिका दलहरूलाई सबैभन्दा ठूलो क्षति पुगेको देखिएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी कुल ३२ सिट जितेको थियो। सो निर्वाचनमा माओवादीले समानुपातिकतर्फ ११ लाख ७५ हजार ६८४ मत अर्थात् ११.८८ प्रतिशत मत प्राप्त गरेको थियो।
तर २०८२ को निर्वाचनसम्म आइपुग्दा प्रचण्ड नेतृत्वको माओवादीसहित झन्डै दुई दर्जन दल मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो। यस गठबन्धनमा प्रचण्ड संयोजक र माधवकुमार नेपाल उपसंयोजक बनेका थिए। पार्टीको केन्द्रीय सदस्य संख्या मात्रै २५ सयभन्दा बढी पुगेको थियो।
यद्यपि अपेक्षाविपरीत यसपटक प्रत्यक्षतर्फ आठ सिटमा सीमित भएको नेकपाले समानुपातिकतर्फ करिब आठ लाख १० हजारभन्दा बढी मत मात्रै प्राप्त गरेको छ। जेनजेड आन्दोलनपछि २२ दलसँग एकता गरेको माओवादीले नाम, चुनाव चिह्न र संगठनात्मक संरचनासमेत परिवर्तन गरेको थियो। माओवादी नाम हटाएर नेकपा राखिएको थियो भने गोलाकारभित्रको हसिया–हथौडा चुनाव चिह्नलाई तारा चिह्नमा परिवर्तन गरिएको थियो।
२०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धन बनाएर चुनाव लडेको माओवादी यसपटक भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। नेकपाका प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टीले प्रत्यक्षतर्फ ३० देखि ३५ सिट र समानुपातिकतर्फ करिब १५ लाख मत ल्याउने अनुमान गरेको थियो। तर परिणाम अपेक्षाभन्दा निकै कम आएपछि पार्टी चौथो शक्तिमा सीमित भएको छ।
समानुपातिक मत बढाउने उद्देश्यले नेकपाले १६४ स्थानमा आफ्नै उम्मेदवार उठाएको थियो। बागलुङमा जनमोर्चालाई समर्थनबाहेक अन्यत्र कुनै तालमेल गरिएको थिएन। “हामीले समानुपातिक मत बढाउने उद्देश्यले प्रत्यक्षतर्फ उम्मेदवार उठाएका थियौँ, तर अपेक्षित सफलता पाउन सकेनौँ,” प्रवक्ता सापकोटाले बताएका छन्।
चुनावअघि विभिन्न आकलन भए पनि प्रचण्ड स्वयं चुनाव हार्ने जोखिमबाट बच्न सुरक्षित मानिएको रुकुम पूर्वबाट उम्मेदवार बनेका थिए। रुकुम पूर्वबाट उनले १० हजार २४० मत ल्याएर चुनाव जितेका छन्।
प्रत्यक्षतर्फ नेकपाबाट निर्वाचित हुनेमा प्रचण्डसहित वर्षमान पुन (रोल्पा), रमेश मल्ल (सल्यान), गोपाल शर्मा (रुकुम पश्चिम), महेन्द्रबहादुर शाही (कालिकोट), युवराज दुलाल (सिन्धुपाल्चोक), धनबहादुर बुढा (डोल्पा) र मातृका यादव (धनुषा) रहेका छन्।
धनुषा–१ मा भने दोस्रो स्थानमा रहेका मातृका यादवलाई निर्वाचित घोषणा गरिएको छ। रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएपछि यादवलाई विजयी घोषणा गरिएको थियो। निर्वाचनमा साहले २० हजार ९१६ मत ल्याएका थिए भने यादवले १० हजार ४०३ मत प्राप्त गरेका थिए।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादी त्यसयता लगातार कमजोर हुँदै आएको छ। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादी २६ सिटमा सीमित भएको थियो।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन बनाएर माओवादीले ३६ सिट जितेको थियो। २०७९ मा पनि गठबन्धनकै सहायताले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो।
प्रदेशगत रूपमा पनि माओवादीको प्रभाव घटेको देखिएको छ। कोशी प्रदेशमा २०७९ मा मोरङ, भोजपुर र खोटाङबाट जितेको माओवादी यसपटक कुनै सिट जित्न सकेन। मधेश प्रदेशमा सर्लाही–२ बाट जितेको सिट कायम राख्न सकेन भने बागमती प्रदेशमा अघिल्लो चुनावमा चार सिट जितेको पार्टी यसपटक एक सिटमा सीमित भएको छ।
गण्डकी प्रदेशमा अघिल्लो निर्वाचनमा गोरखा–२ बाट प्रचण्ड र बागलुङबाट देवेन्द्र पौडेल निर्वाचित भएका थिए। तर यसपटक गण्डकीमा नेकपा शून्यमा सीमित भएको छ।
लुम्बिनी प्रदेशमा अघिल्लो चुनावमा तीन सिट जितेको नेकपा यसपटक दुई सिटमा सीमित भएको छ। कर्णाली प्रदेशमा भने तीन सिट जित्न सफल भएको छ। सुदूरपश्चिम प्रदेशमा भने अघिल्लो चुनावझैँ यसपटक पनि माओवादीले कुनै सिट जित्न सकेन।
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाको उदयले माओवादीलाई पछाडि धकेलेको हो। वामपन्थी धारसँग नजिक रहेका पत्रकार उजिर मगर भन्छन्, “यसअघिसम्म प्रचण्डसँग ‘म्याजिक नम्बर’ रहेको भनिन्थ्यो, तर अब त्यो अवस्था रहेन। माओवादी झनै कमजोर भएको देखिन्छ।”
यसअघि प्रचण्डले आफू जोसँग मिले पनि सरकारको नेतृत्व गर्न सक्ने ‘म्याजिक नम्बर’ आफूसँग रहेको दाबी गर्दै आएका थिए। प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएका कारण ३२ सिट भएको माओवादी निर्णायक शक्तिका रूपमा देखिएको थियो।
तर कांग्रेस र एमालेले मिलेर नयाँ सरकार गठन गरेपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो।
यद्यपि निर्वाचनपछि रुकुम पूर्वमा आयोजित सभामा सम्बोधन गर्दै प्रचण्डले आफू अझै राष्ट्रिय राजनीतिमा अनुभवी र निर्णायक नेताका रूपमा रहने दाबी गरेका छन्। उनले भने, “मुलुकको राष्ट्रिय राजनीतिको मियो र संसद्को सबैभन्दा अनुभवी नेतृत्व अब म नै हुँ।”
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
