
कलाकार सागर लम्साल ‘बले’ गम्भीर आरोपमा पक्राउ परेपछि यो घटना अहिले व्यापक चर्चा र बहसको विषय बनेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई बूढानीलकण्ठको कपनस्थित बालुवाखानी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार उनीविरुद्ध गम्भीर प्रकृतिको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।
यो प्रकरणको सुरुवात अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत गरेको सार्वजनिक आरोपबाट भएको हो। ती युवतीले आफूलाई कलाकार सागर लम्सालले अमेरिकामा रहँदा जबर्जस्ती सम्बन्ध राखेको आरोप लगाएकी छन्।
युवतीका अनुसार घटना एक वर्षअघि भएको हो, जतिबेला बले अमेरिका पुगेका थिए। उनले आफ्नो अपार्टमेन्टमा बोलाएर विश्वासको सम्बन्ध दुरुपयोग गर्दै आफूलाई बलात्कार गरिएको दाबी गरेकी छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै आफू लामो समयदेखि डिप्रेसन र एन्जाइटी जस्ता मानसिक समस्यासँग जुधिरहेको अवस्थामा आफूले ‘दाइ’ जस्तै मानेको व्यक्तिबाट यस्तो घटना भएको उल्लेख गरेकी छन्। परिवारमा असर पर्ने डरका कारण तत्काल कुरा बाहिर ल्याउन नसकेको पनि उनले बताएकी छन्।
यस घटनाले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया ल्याएको छ। आरोप लगाउने युवतीलाई चिन्ने केही कलाकारहरूले उनीको स्वभाव सरल र विश्वसनीय भएको भन्दै उनको दाबीलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
विभिन्न संचार माध्यमले घटनाबारे बलेसँग प्रतिक्रिया लिन खोजे पनि उनको सम्पर्क हुन नसकेको उल्लेख गरेका छन् ।
हिजो आरोप लगाउने युवतीले आफ्नो पहिचानसमेत सार्वजनिक गरेकी थिइन । उनले आफू संगम बिष्ट भएको बताएकी छन्, जो कलाकार गजित बिष्टकी छोरी र नृत्य निर्देशक गम्भीर बिष्टकी भतिजी हुन्। संगम स्वयं पनि बाल्यकालदेखि नै कलाकारितामा सक्रिय रहँदै आएकी छन् र राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेकी छन्।
पहिलो स्टाटस भाइरल भएपछि उनले दोस्रो स्टाटस लेख्दै आफ्नो परिचय सार्वजनिक गरेकी हुन्। दोस्रो स्टाटसमा उनले निकै आक्रामक अभिव्यक्ति दिँदै आफू न्यायका लागि अन्तिमसम्म लड्ने बताएकी छन्।
उनले आफूविरुद्ध भइरहेको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै आफ्नो संघर्ष, पारिवारिक पृष्ठभूमि र कलाकारिताको यात्रा उल्लेख गरेकी छन्। साथै, उनले यो लडाइँ केवल आफ्नो मात्र नभई अन्य पीडित महिलाहरूको आवाज पनि भएको बताएकी छन्।
संगमले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै दोषीमाथि कारबाही हुनुपर्ने माग गरेकी छन्।
यस प्रकरणसँगै सामाजिक सञ्जालमा महिलाविरुद्ध हुने हिंसा, पीडितको आवाज र न्याय प्रणालीबारे व्यापक बहस सुरु भएको छ।
हाल प्रहरीले सागर लम्सालमाथि लागेको आरोपबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।


