
आइतबार उच्च अंकले घटेको सेयर बजार सोमबार भने सुधारिएको छ। नेप्से परिसूचक ८३.३३ अंकले बढ्दै २७६० अंकमा पुगेको हो।
कारोबार अवधिमा नेप्से परिसूचक दिउँसो २:३३ बजे करिब ९८ अंकले बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन सोमबारको उच्चतम विन्दु बनेको छ।
आइतबार बजारमा ठूलो गिरावट आएपछि सोमबार बिहान अर्थमन्त्री स्वर्णिम वाग्लेले स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेट गरेका थिए। सो क्रममा उनले बजारमा अनावश्यक त्रास फैलिएको बताएका थिए।
भेटमा उनले आगामी बजेट रुपान्तरणकारी हुने र बजारलाई पारदर्शी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए। साथै, हालको अवस्थालाई लिएर आत्तिनु नपर्ने सन्देश दिएका थिए। अर्थमन्त्रीको यही आश्वासनले सोमबार बजार सुधार हुन सहयोग पुगेको मानिएको छ।
कारोबार रकम भने केही घटेको छ। आइतबार १२ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ।
सोमबार कुल २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ र एक कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहका सूचकमा वृद्धि देखिएको छ।
हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशतले बढेको छ। त्यसपछि फाइनान्स ४.०३ प्रतिशतले बढेको छ। बैंकिङ ३.१८, विकास बैंक ३.६३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४, अन्य २.३६ र व्यापार समूह २.४० प्रतिशतले बढेका छन्।
यस दिन ८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन्।
त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९.५५ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.१८ प्रतिशतले मूल्य वृद्धि भएको छ।
अघिल्लो दिन १० प्रतिशतले बढेको रिलायन्स स्पिनिङ मिल्समा भने सोमबार बिक्री चाप देखिएको छ। उक्त कम्पनीको शेयर मूल्य १.६० प्रतिशतले घटेको छ।
सोमबार सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर रहेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
