
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालमा कार्यरत विदेशी राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने तयारी गरेका छन्। पदभार सम्हालेको करिब दुई साता बित्दासम्म औपचारिक भेटघाट हुन नसकेको गुनासो कूटनीतिक वृत्तमा उठेपछि यस्तो पहल गरिएको हो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार बुधबार बिहान सवा ११ बजे परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईको उपस्थितिमा उक्त भेटवार्ता तय गरिएको छ।
भारत, चीन, अमेरिका, बेलायत, रुस, फ्रान्स, स्विजरल्याण्ड, जापान, कतार, युएई, इजरायल, पाकिस्तान लगायतका देशका राजदूतहरूलाई एकैपटक निम्ता दिइएको छ। यद्यपि काठमाडौँमा रहेका र सहभागी हुने राजदूतहरूको अन्तिम सूची भने परराष्ट्र मन्त्रालयले बुधबार बिहानसम्म मात्र उपलब्ध गराउने बताइएको छ।
प्रधानमन्त्री बालेनले पहिलोपटक राजदूतहरूसँग प्रत्यक्ष संवाद गर्न लागेका भए पनि यसको तयारी भने छोटो समयमै गरिएको बताइएको छ। विगतमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि ‘पहिलो भेट कसले पाउने’ भन्ने प्रतिस्पर्धा कूटनीतिक वृत्तमा देखिने गरेको थियो।
राजदूतहरूबीच यस्तो होडबाजीका कारण असन्तुलनको अवस्था सिर्जना हुने र केही देशलाई बढी प्राथमिकता दिएको सन्देश जाने समस्या रहँदै आएको थियो। यसपटक भने बालेनले त्यस्तो परम्परा तोड्दै सबैसँग एकैसाथ संवाद गर्ने निर्णय गरेका हुन्।
बालुवाटारसम्म सहज पहुँच बनाउने, अलगअलग भेटका लागि दबाब दिने र द्विपक्षीय स्वार्थलाई प्राथमिकता दिने अभ्यास लामो समयदेखि चल्दै आएको थियो। यसले प्रधानमन्त्रीको समय खर्चिने र कूटनीतिक सन्तुलनमा असर पर्ने गरेको थियो।
प्रधानमन्त्री बालेनको यो कदमले सामूहिक संवादमार्फत समान व्यवहारको सन्देश दिन खोजेको बुझिएको छ। आवश्यक विषय कूटनीतिक च्यानलमार्फत राख्नुपर्ने धारणा पनि उनले अघि सार्न सक्ने अधिकारीहरूको भनाइ छ।
उनको कूटनीतिक सोच आर्थिक कूटनीति, सन्तुलित र स्वतन्त्र विदेश नीति तथा ‘नेपाल प्रथम’ अवधारणामा केन्द्रित रहेको बताइएको छ। साथै परराष्ट्र मन्त्रालयलाई थप व्यावसायिक, संगठित र प्रभावकारी बनाउनेतर्फ पनि उनले जोड दिएका छन्।
सामान्य विषय मन्त्री र सचिवस्तरमै समाधान गर्नुपर्ने र प्रधानमन्त्रीसँगको भेट उच्चस्तरीय तथा राष्ट्रिय हितसँग जोडिएका विषयमा मात्र सीमित हुनुपर्ने उनको धारणा रहेको स्रोतले जनाएको छ।
पूर्वाधार विकास, विदेशी लगानी, पर्यटन प्रवर्द्धन र ऊर्जा व्यापारजस्ता क्षेत्रमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने संकेत पनि उनले गरेका छन्।
छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित र व्यावहारिक सम्बन्ध कायम राख्दै नेपालको सार्वभौमिकता र हितलाई प्राथमिकता दिने उनको दृष्टिकोण रहेको बताइएको छ।
यो सामूहिक भेटवार्तामा सरकारले आफ्ना प्राथमिकता स्पष्ट पार्ने, राजदूतहरूको धारणा सुन्ने र नेपालको हितअनुसार सन्देश दिने अपेक्षा गरिएको छ।
कुनै एक देशको प्रभावभन्दा सबैसँग समान सम्बन्ध कायम गर्ने वातावरण निर्माण गर्नु यस भेटको मुख्य उद्देश्य रहेको अधिकारीहरू बताउँछन्। यस्तो अभ्यास निरन्तर भए कूटनीतिक प्रणाली थप पारदर्शी र व्यवस्थित बन्ने विश्वास पनि व्यक्त गरिएको छ।
प्रधानमन्त्री बालेनको यो कदमले नेपालको कूटनीतिक अभ्यासमा नयाँ ढाँचा स्थापित गर्ने संकेत दिएको छ। अब यो शैली कति प्रभावकारी र दीर्घकालीन हुन्छ भन्ने भने हेर्न बाँकी छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
