
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार हुँदै राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन्।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरेका क्याडेटहरूलाई बधाई तथा शुभकामना दिएका हुन्।
उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पणका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनभित्र रहेर कर्तव्यप्रति सधैं सजग रहनुपर्नेमा जोड दिएका छन्।
विभिन्न सामाजिक पृष्ठभूमिबाट आएका जवानहरूको नेतृत्व गर्दै सक्षम र एकीकृत टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी र छडी प्रदान गरेका थिए।
प्रधानमन्त्री शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।
त्यसैगरी, प्रधान सेनापति महारथी अशोकराज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी तीन जना शिक्षार्थी अधिकृत क्याडेटलाई ‘नेपाली मिलिटरी एकेडेमी मेडालियन’ प्रदान गरेका छन्।
नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट तथा पदिक र बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ जना र एक हजार ६०८ प्राविधिक अधिकृतहरूले तालिम पूरा गरिसकेका छन्।
सन् २०१२ देखि विदेशी शिक्षार्थीहरूलाई समेत सहभागी गराउँदै तालिम सञ्चालन हुँदै आएको छ। हालसम्म विभिन्न देशका ३२ जना विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन्।
समारोहमा नवआयुक्त अधिकृतहरूलाई अभिभावक तथा आफन्तजनहरूले सुशोभन गरेका थिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
