
बल्खुस्थित सुकुमवासी बस्ती हटाउने क्रममा सोही क्षेत्र नजिकै बागमती नदीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
शुक्रबार बिहान घर भत्किएको दृश्य हेर्न नसक्ने भन्दै घरबाट निस्किएका व्यक्ति दिउँसो मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ।
मृतक ६१ वर्षीय इन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताएकी छन्। उनका अनुसार बिहान घर भत्किएपछि उनी एक्लै “हेर्न सक्दिनँ” भन्दै घरबाट बाहिरिएका थिए।
स्थानीयका अनुसार राईको परिवार बल्खुस्थित सुकुमवासी बस्तीमा करिब १६–१७ वर्षदेखि बस्दै आएको थियो। उनी बल्खु सब्जीमण्डीमा काम गर्ने गरेको पनि बताइएको छ।
घटनापछि प्रहरी टोलीले घटनास्थलमा मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। मृतकको पहिचान पुष्टि भए पनि मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार परिवारसँग समन्वय गरी घटनाको वास्तविक कारण पत्ता लगाउने काम भइरहेको छ।
प्रहरीका एसपी पवनकुमार भट्टराईले शव पोस्टमार्टमका लागि पठाइएको जानकारी दिँदै रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे स्पष्ट हुने बताए। प्रारम्भिक रूपमा घटना शंकास्पद देखिए पनि कुनै निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ।
घटनास्थलमा मृतकका परिवारजन र स्थानीय बासिन्दाको भीड लागेको थियो। श्रीमती सरिता र छोरा घटनास्थलमै पुगेका थिए। परिवारजनले बिहानसम्म सामान्य अवस्थामा रहेका राई अचानक यस्तो अवस्थामा भेटिएको भन्दै स्तब्ध भएको बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार राई केही समयदेखि तनावमा देखिन्थे। विशेष गरी बस्ती हटाउने अभियान सुरु भएसँगै उनी चिन्तित देखिएको उनीहरू बताउँछन्। बल्खु क्षेत्रका सुकुमवासी बस्तीमा बसेका धेरै परिवारजस्तै राईको परिवार पनि आफ्नो बसोबास गुम्ने चिन्तामा थियो।
शुक्रबार बिहानदेखि बल्खु क्षेत्रमा अतिक्रमित बस्ती हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको थियो। डोजर प्रयोग गरी घरटहरा भत्काउने क्रममा धेरै परिवार विस्थापित भएका छन्। प्रशासनले यसअघि नै सूचना जारी गर्दै बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो।
स्थानीयले भने बस्ती हटाउने प्रक्रिया मानविय संवेदनशीलता नहेरी गरिएको आरोप लगाएका छन्। केही बासिन्दाले वैकल्पिक व्यवस्था बिना गरिएको हटाउने कार्यले समस्या थपिएको बताएका छन्।
घटनाले बस्ती हटाउने अभियानबीच मानवीय पक्षप्रति ध्यान दिनुपर्ने विषय पुनः उठाएको छ। एकातिर प्रशासनले अतिक्रमण हटाउने अभियानलाई आवश्यक कदमका रूपमा अघि बढाइरहेको छ भने अर्कोतर्फ यसले प्रभावित परिवारहरूको मानसिक अवस्था र सुरक्षामा पर्ने असरबारे प्रश्न उठ्न थालेका छन्।
प्रहरीले घटनासम्बन्धी सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र घटनाको वास्तविक कारणबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
