
नेपालमा अन्तरदेशीय रेलमार्ग निर्माणको बहसबीच काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन अबको करिब डेढ महिनाभित्र सरकारलाई बुझाउने तयारी भएको छ।
चिनियाँ पक्षले उक्त प्रतिवेदनलाई अन्तिम रूप दिने चरणमा पुगेको जनाएको छ। केही दिनअघि अध्ययनमा संलग्न चिनियाँ टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपस्थित भएर प्रारम्भिक निष्कर्ष र डिजाइनसम्बन्धी प्रस्तुति समेत दिएको थियो।
उक्त अध्ययनमा रेलमार्गको सम्भावित डिजाइन, लागत तथा प्राविधिक पक्ष समेटिएको भए पनि अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्र निर्माण प्रक्रिया र लगानीको ढाँचाबारे स्पष्ट छलफल हुने नेपाली अधिकारीहरूले बताएका छन्।
प्रारम्भिक अध्ययनअनुसार नेपाल–चीन अन्तरदेशीय रेल सेवाअन्तर्गत नेपालतर्फ करिब ७२ किलोमिटर रेलमार्ग निर्माण हुने प्रस्ताव गरिएको छ। यसमध्ये ६८.६ किलोमिटर दूरी सुरुङमार्फत र २.६ किलोमिटर दूरी पुलमार्फत पार गर्ने योजना रहेको छ।
रेल विभागका अनुसार प्रस्तावित मार्गको ९५ प्रतिशतभन्दा बढी हिस्सा जमिनमुनि पर्ने देखिएको छ। पूर्वसम्भाव्यता अध्ययनमा केरुङलाई प्रारम्भिक बिन्दु र टोखालाई अन्तिम बिन्दुका रूपमा उल्लेख गरिएको छ।
यसबीच नेपालले भारतसँग पनि काठमाडौँलाई सीमासँग जोड्ने रेलमार्गबारे छलफल अघि बढाएको छ। भारतले प्रस्ताव गरेको १३६ किलोमिटर लामो रक्सौल–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको जनाइएको छ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने सहमति भएको थियो। सोहीअनुसार चिनियाँ प्राविधिक टोलीले ४२ महिनाको समयसीमामा स्थलगत तथा प्राविधिक अध्ययन गर्दै आएको छ।
अध्ययनका क्रममा ड्रोन प्रविधिमार्फत प्रस्तावित मार्गको अवलोकन गर्नुका साथै भौगर्भिक परीक्षणसमेत गरिएको थियो। रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिने क्रममा दुवै पक्षबीच तथ्यांक आदानप्रदान र छलफल भइरहेको छ।
यससँगै सरकारको वार्षिक प्रतिवेदनमा काठमाडौँ–केरुङ विद्युतीय रेलमार्गसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्गको अध्ययन पनि अगाडि बढिरहेको उल्लेख गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
