२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कर्मचारीहरूलाई सचेत गराएको हो।

मन्त्रालयले राजनीतिमा संलग्न हुने कर्मचारीलाई आवश्यक परे सेवाबाटै हटाउन सकिने चेतावनीसमेत दिएको छ।

सूचनामा नेपालको संविधान र प्रचलित कानुनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको उल्लेख गरिएको छ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ङ) उद्धृत गर्दै मन्त्रालयले राजनीतिक गतिविधिमा सहभागी हुने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने’ व्यवस्था रहेको स्मरण गराएको छ।

मन्त्रालयले सम्पूर्ण निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

कुनै पनि राजनीतिक दलको सदस्यता लिने, भ्रातृ वा जनवर्गीय संगठनमा आबद्ध हुने, राजनीतिक गतिविधिमा सक्रिय रहने वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीमाथि कडा कारबाही गरिने चेतावनी सूचनामा उल्लेख छ।

शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षर गरिएको सूचनामा निजामती कर्मचारीको राजनीतिक संलग्नताले सार्वजनिक सेवा प्रवाहमा असर पर्ने उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय