
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभर एकसाथ करिब १५ सय वडामा वडा अधिवेशन गर्दैछ।
पार्टीले वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका वडाहरूमा अधिवेशन गर्न लागेको हो। रास्वपाका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार देशभर करिब ३ हजार वडामा तदर्थ समिति गठन गरिएको छ।
तीमध्ये करिब आधा वडाको अधिवेशन चुनावअघि र चुनावपछि सम्पन्न भइसकेको छ। बाँकी रहेका वडाहरूको अधिवेशन आज एकैदिन गर्न लागिएको पार्टीले जनाएको छ।
रास्वपाले वडा अधिवेशन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ। जेठ ३ गतेअघि तदर्थ समिति गठन भएका वडामा अहिले अधिवेशन भइरहेको छ भने त्यसपछि गठन हुने वडाहरूमा जेठ १६ गते अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।
पार्टीले पालिका अधिवेशन पनि दुई चरणमा गर्ने निर्णय गरेको छ। त्यसअनुसार जेठ ९ र १७ गते पालिका अधिवेशन हुनेछ।
रास्वपाले कुनै पालिकामा ३० प्रतिशत वडा अधिवेशन सम्पन्न भएमा र जिल्लाको हकमा ३० प्रतिशत पालिका अधिवेशन भएमा माथिल्लो तहको अधिवेशन नरोक्ने निर्णय गरेको जनाएको छ।
यसैगरी, पार्टीले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। प्रदेश अधिवेशन भने जेठ २६ गतेबाट सुरु भएर असार १ गतेसम्म चल्ने कार्यतालिका बनाइएको छ।
रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ। पार्टी स्थापना भएको ठीक चार वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको हो।
रास्वपाले महाधिवेशनअघि संगठन विस्तार र आन्तरिक संरचना बलियो बनाउन वडा तहदेखि अभियानलाई तीव्र बनाएको जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
