२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा आजदेखि उच्चस्तरीय राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।

दिल्ली पुगेका लामिछानेले आज सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेट नयाँ दिल्लीस्थित दिन दयाल उपाध्याय मार्गमा रहेको भाजपा मुख्यालयमा हुनेछ।

लामिछाने सोमबार पत्नी निकिता, रास्वपा महामन्त्री विपिनकुमार आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरासहित दिल्ली प्रस्थान गरेका थिए।

भेटवार्तामा भाजपा र रास्वपाबीचको संगठनात्मक सम्बन्ध विस्तार, नेपाल–भारत सम्बन्ध सुधार, सीमा विवाद, तथा सीमापार अपराध नियन्त्रणजस्ता विषयमा छलफल हुने कार्यसूची रहेको रास्वपा नेताहरूले बताएका छन्।

यसैबीच लामिछानेले आजै भारतीय गृहमन्त्री अमित शाह र परराष्ट्रमन्त्री एस. जयशंकरसँग पनि भेट गर्ने कार्यक्रम छ। बुधबार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेट हुने तय भएको छ।

भ्रमणको अन्तिम दिन बिहीबार लामिछानेले दिल्लीमा रहेका नेपाली समुदाय तथा रास्वपा समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणकै क्रममा भाजपा मुख्यालयमा पुगेका लामिछानेलाई पार्टी नेताहरूले परम्परागत झाँकी, बाजागाजा र पुष्पवृष्टिसहित भव्य स्वागत गरेका थिए। उनीले भाजपा अध्यक्ष नितिन नवीनसँग पनि प्रारम्भिक छलफल गरेका छन्।

‘विकास कूटनीति’ मा जोड, ८ प्रस्ताव सार्वजनिक

यसै भ्रमणका क्रममा लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले पुनःपरिभाषित गर्दै ‘विकास कूटनीति’ मा आधारित साझेदारी निर्माण गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखमा उनले नेपालमा हालै भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिकाको क्रान्ति’ भन्दै रास्वपालाई नयाँ राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरेका छन्।

लामिछानेका अनुसार नेपाल–भारत सम्बन्ध अब केवल ऐतिहासिक, सांस्कृतिक र धार्मिक आधारमा सीमित नराखी आर्थिक विकास, प्रविधि, ऊर्जा, पूर्वाधार र व्यापारिक सहकार्यतर्फ केन्द्रित हुनुपर्छ।

उनले सीमा विवादलाई उग्र राष्ट्रवाद होइन, तथ्य र संवादका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

सन् २०२६ लाई नेपाल–भारत सम्बन्धको नयाँ चरणका रूपमा उपयोग गर्न सकिने भन्दै उनले दुई देशबीच साझा समृद्धि केन्द्रित दृष्टिकोण आवश्यक रहेको उल्लेख गरेका छन्।

नेपाल–भारत सहकार्यका ८ प्रमुख प्रस्ताव

लामिछानेले आफ्नो लेखमा ८ बुँदे प्रस्ताव अघि सारेका छन्, जसमा नेपाल–भारत सम्बन्धलाई रणनीतिक रूपमा विस्तार गर्ने विभिन्न योजना समेटिएका छन्।

पहिलो प्रस्तावमा उनले विश्वासलाई सम्बन्धको आधार बनाउँदै सीमा विवादलाई संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।

दोस्रोमा रक्सौल–काठमाडौं रेलमार्ग, प्रत्यक्ष हवाई सेवा, डिजिटल करिडोर तथा शिक्षा–प्रविधि सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

तेस्रो प्रस्तावमा पोखरा र लुम्बिनीबाट भारतीय प्रमुख शहरहरूसम्म सिधा हवाई उडान विस्तार गर्नुपर्ने धारणा छ।

चौथोमा काठमाडौं–बेंगलुरु डिजिटल करिडोरमार्फत फिनटेक, डिजिटल भुक्तानी र स्टार्टअप सहकार्य विस्तार गर्नुपर्ने प्रस्ताव गरिएको छ।

पाँचौंमा भारतीय आईटी कम्पनी, विश्वविद्यालय र स्टार्टअपलाई नेपालमा नवप्रवर्तन केन्द्र स्थापना गर्न प्रोत्साहन गर्नुपर्ने उल्लेख छ।

छैटौं प्रस्तावमा नेपाल–भारत सीमावर्ती क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गरी कृषि उत्पादन र आपूर्ति शृंखलामा सहकार्य गर्नुपर्ने सुझाव छ।

सातौंमा नेपालको जलविद्युत् सम्भावनालाई भारतको औद्योगिक करिडोरसँग जोड्दै एकीकृत ऊर्जा बजार विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ।

आठौंमा व्यापार सहजीकरण, आधुनिक एकीकृत जाँच चौकी (ICP) विस्तार र सीमापार अवरोध हटाउनुपर्ने विषय समेटिएको छ।

अन्तिममा लामिछानेले नेपाल–भारत सम्बन्धलाई राजनीति र कूटनीतिभन्दा बाहिर खेलकुद र जनस्तरसम्म विस्तार गर्नुपर्ने धारणा राखेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय