२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय काठमाडौं र नयाँदिल्ली दुवैतर्फ सुनिएका राजनीतिक ‘गड्याङगुडुङ’का आवाज आफूलाई त्यति प्रिय नलागेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखले नेपाल र भारत दुवै देशमा चर्चा र बहस सिर्जना गरेको उल्लेख गरेका छन्।

उनले नेपाल–भारत सम्बन्धका विषयमा विकास साझेदारी, सभ्यता, संस्कृति तथा ‘रोटी–बेटी’ सम्बन्धका कुरा उठ्दा दुवैतर्फ सकारात्मक वातावरण बन्ने गरेको बताए। आफ्नो कार्यकालमा द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्दा पनि दुवै देशमा उत्साह देखिएको स्मरण उनले गरेका छन्।

तर, सम्बन्धको देखिने पक्षभन्दा बाहिर अझ गम्भीर र संवेदनशील पक्ष रहेको उनको भनाइ छ। उनका अनुसार नेपाल र भारतबीचको सम्बन्धमा सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको विषय सधैंभरिको जटिल प्रश्न बनेर रहेको छ।

भट्टराईले भारतीय पक्षमा सुरक्षा दृष्टिकोणबाट हिमाली क्षेत्रलाई हेर्ने पुरानो सोच रहेको उल्लेख गर्दै सीमा विवाद त्यसैको अभिव्यक्ति भएको बताएका छन्। अर्कोतर्फ नेपाली समाजमा राष्ट्रिय सार्वभौमसत्ताप्रति रहेको संवेदनशीलता र ‘सिक्किमीकरण’को त्रासले पनि सम्बन्धलाई जटिल बनाउने गरेको उनको विश्लेषण छ।

उनले यही कारणले नेपाल–भारत सम्बन्ध लामो समयदेखि उकाली–ओरालीको चक्रमा घुमिरहेको टिप्पणी गरेका छन्। यही समस्याको समाधान खोज्न आफूले नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठनको अवधारणा अघि सारेको पनि उनले बताएका छन्।

भट्टराईले ईपीजीको प्रतिवेदन अहिलेसम्म कार्यान्वयनको प्रतीक्षामै रहेको उल्लेख गर्दै त्यसको भविष्य अन्योलमै रहेको बताएका छन्।

साथै, उनले रास्वपा सभापति रवि लामिछानेको हालको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको अविश्वास र जटिलताको चक्र तोड्न सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय