
नेकपाका सांसद प्रमेश हमालले फिफा विश्वकप–२०२६ को प्रसारण सबै नागरिकले निःशुल्क हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै धारणा राख्दै उनले विश्वकप हेर्न दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्था बनेको भन्दै आपत्ति जनाए।
विश्वकप प्रसारणका नाममा मनपरी शुल्क असुलिएको आरोप लगाउँदै सांसद हमालले अब पर्याप्त आम्दानी भइसकेको हुनसक्ने उल्लेख गरे। उनले नेपाल सरकारले आफ्नै टेलिभिजन च्यानलमार्फत नागरिकलाई निःशुल्क रूपमा विश्वकप हेर्ने व्यवस्था मिलाउनुपर्ने बताए।
सांसद हमालले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते संसदमा दिएको अभिव्यक्तिलाई पनि रेकर्डबाट हटाउन माग गरे। उक्त विषयमा लामो समयदेखि विरोध हुँदै आए पनि सभामुखले बेवास्ता गरेको उनको आरोप थियो।
उनले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणको प्रसंग उठाउँदै नेपालको सीमासम्बन्धी विषयमा चिनियाँ पक्षसँग पनि आवश्यक छलफल गर्न आग्रह गरे।
त्यसैगरी दार्चुलामा विदेशी सैनिक हेलिकोप्टरले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको, सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको तथा चिया उद्योगहरू बन्द हुँदै गएको विषयमा समेत सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न उनले माग गरे।
संसदमा बोल्दै हमालले राष्ट्रिय हित, सीमा सुरक्षा र नागरिकको चासोसँग जोडिएका विषयमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
