
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन र छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयका अनुसार असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा. सुदीप भट्टराईको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो।
समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक चासोका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।
छानबिन समितिलाई ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो तथा भिडियो उपकरण, डिजिटल ट्रान्समिटर र इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धी विषयमा विस्तृत अध्ययन गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।
उक्त खरिद प्रक्रियासम्बन्धी विभिन्न निकायमा उजुरी तथा गुनासो परेका कारण मन्त्रालयले आफ्नो आन्तरिक जानकारी र अध्ययनका लागि समिति गठन गरेको जनाएको छ।
नेपाल टेलिभिजनमा पछिल्ला वर्षहरूमा प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि गरिएका विभिन्न खरिद प्रक्रियाबारे पारदर्शिता र कानुनी प्रक्रिया पालनासम्बन्धी प्रश्नहरू उठ्दै आएका छन्।
यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको थियो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
