
अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसनका कार्यालयअगाडि सोमबार बिहान शंकास्पद रूपमा गाडी पार्किङ गरिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो ।
तीनवटै सञ्चारगृहको कार्यालय प्रवेश गर्ने गेट अवरोुद्ध हुने गरी एकै समयमा उस्तै शैलीमा गाडी पार्किङ गरिएको थियो। गाडीका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालय परिसरमा प्रवेश गर्नसमेत समस्या भएको थियो।
घटनाबारे सञ्चारगृहहरूले प्रहरीलाई जानकारी गराएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेर क्रेनको सहायताले गाडी हटाएको थियो।
यातायात व्यवस्था विभागको विवरणअनुसार कान्तिपुर पब्लिकेसनको कार्यालयअगाडि पार्किङ गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा दर्ता रहेको छ।
यस्तै, अनलाइनखबरको कार्यालयअगाडि राखिएको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको र हिमालय टेलिभिजनको कार्यालयअगाडि पार्किङ गरिएको बा. १२ च १२५५ नम्बरको गाडी सुवाष भण्डारीको नाममा दर्ता रहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गाडी पार्किङ गर्ने व्यक्ति र त्यसको उद्देश्यबारे थप अनुसन्धान भइरहेको छ। तीनवटै घटनाबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषय पनि अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ।
यसैबीच, नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरेर पत्रकारलाई आवतजावतमा अवरोध सिर्जना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले तत्काल अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यस्तै, नेकपा एमालेले पनि विज्ञप्ति जारी गर्दै सञ्चारगृह र पत्रकारलाई भयभीत बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ। सञ्चारमाध्यमको काममा अवरोध पुर्याउनु लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको एमालेको ठहर छ।
यसै विषयमा प्रतिक्रिया जनाउँदै अनलाइनखबरका सम्पादक वसन्त बस्नेतले गणेश नेपाली आत्मदाह प्रकरणमा राज्यको जिम्मेवारी र जवाफदेहिताको माग उठिरहेको समयमा मिडिया हाउसका गेटमा शंकास्पद रूपमा गाडी राखिनु गम्भीर विषय भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘गणेश नेपाली आत्मदाहलगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो। राज्य संवेदनशील अभिभावक बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन्। तर्साउन खोजिएको हो भने पनि हामी तर्सिने छैनौँ। आफ्नो जिम्मेवारी निष्ठा र संकल्पका साथ पूरा गर्छौँ।’
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
