
काठमाडौँ, असार १९ – स्पेनको औपचारिक भ्रमण सकेका प्रधानमन्त्री केपी शर्मा ओली आज दोहा, कतार हुँदै स्वदेश फर्किँदै छन्।
प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बाराखास विमानस्थलबाट बिहीबार राति ११ बजे (स्थानीय समयअनुसार) दोहा प्रस्थान गरेका हुन्। दोहाबाट उनी आजै नेपालका लागि प्रस्थान गर्नेछन्।
स्पेनस्थित नेपाली राजदूत शनिल नेपालसहित कूटनीतिक प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा विदाइ गरेका थिए।
प्रधानमन्त्री ओली स्पेनको सेभिया सहरमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनपछि उनले मेड्रिडमा केही कूटनीतिक भेटघाट र कार्यक्रमहरूमा समेत भाग लिएका थिए।
गत असार १४ गते स्पेन प्रस्थान गरेका प्रधानमन्त्री ओली यही असार १९ गते शुक्रबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको भ्रमणलाई नेपालले आर्थिक विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको सन्देशको रूपमा लिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।