
विश्व पर्वतारोहण इतिहासमा निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ केवल कीर्तिमानी आरोही मात्र होइनन्, नेपाली पर्वतारोहीलाई विश्वले हेर्ने दृष्टिकोण बदल्ने व्यक्तिका रूपमा चिनिन्छन्। उनले हिमाल आरोहणमा नयाँ कीर्तिमान मात्रै बनाएनन्, नेपालीहरू सहायक मात्र होइन, नेतृत्व गर्न सक्ने पर्वतारोही हुन् भन्ने सन्देश पनि विश्वसामु पुर्याए।
म्याग्दीको दाना गाउँमा सामान्य परिवारमा जन्मिएका निर्मल पुर्जाको बाल्यकाल संघर्षपूर्ण थियो। बाल्यकालमा क्षयरोग र दमजस्ता स्वास्थ्य समस्यासँग जुधेका उनी पछि बेलायती गोर्खा सैनिक बने। सन् २००३ मा बेलायती सेनामा भर्ती भएका पुर्जा कठिन छनोट पार गर्दै प्रतिष्ठित स्पेसल बोट सर्भिस (एसबीएस) मा प्रवेश गर्ने पहिलो गोर्खा सैनिक बने।
सन् २०१२ मा सगरमाथा आधार शिविर पुगेपछि उनको जीवनले नयाँ मोड लियो। त्यसपछि उनले पर्वतारोहणलाई आफ्नो जीवनको लक्ष्य बनाए र सन् २०१८ मा बेलायती सेनाबाट राजीनामा दिए।
सन् २०१९ मा उनले ‘प्रोजेक्ट पोसिबल’ अभियान सुरु गर्दै विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सात महिनाभित्र आरोहण गर्ने लक्ष्य सार्वजनिक गरे। धेरैले असम्भव भनेको त्यो लक्ष्य उनले ६ महिना ६ दिनमै पूरा गर्दै विश्व कीर्तिमान बनाए। आर्थिक अभावका बीच उनले आफ्नै घर धितो राखेर अभियान अघि बढाएका थिए।
निम्स दाइले नेपाली पर्वतारोहणको पहिचान बदल्न पनि महत्त्वपूर्ण भूमिका खेले। उनले बारम्बार हिमालको सफलता कुनै एक व्यक्तिको नभई सम्पूर्ण टोलीको सामूहिक उपलब्धि भएको बताउँदै आएका छन्।
यसको उदाहरण सन् २०२१ मा के–टु हिमालको पहिलो जाडोयाम आरोहण हो। शिखर नजिक पुग्दा व्यक्तिगत रूपमा अघि बढ्ने अवसर हुँदाहुँदै पनि उनले सबै नेपाली आरोहीलाई एकै ठाउँमा जम्मा गरेर राष्ट्रिय गान गाएपछि सामूहिक रूपमा शिखरमा पुगेका थिए। यो घटना नेपाली पर्वतारोहण इतिहासको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
सन् २०१९ मा उनले खिचेको सगरमाथाको ‘ट्राफिक जाम’ तस्बिर विश्वभर चर्चित बनेको थियो। त्यसले हिमाल व्यवस्थापन, मौसमको सीमित समय र व्यावसायिक आरोहणबारे अन्तर्राष्ट्रिय बहस सुरु गराएको थियो।
उद्धार अभियानमा पनि निम्स दाइको योगदान उल्लेखनीय छ। कतिपय अवस्थामा उनले आफ्ना व्यक्तिगत उपलब्धिभन्दा मानवीयतालाई प्राथमिकता दिँदै उद्धार कार्यमा सक्रिय भूमिका खेलेका छन्। ‘सम्भव छ’ भन्ने उनको जीवनदर्शनले विश्वभर उनलाई विशेष पहिचान दिलाएको छ। यही यात्रालाई सन् २०२१ मा नेटफ्लिक्सको चर्चित वृत्तचित्र ‘14 Peaks: Nothing Is Impossible’ मार्फत विश्वभरका दर्शकसम्म पुर्याइएको थियो।
हाल उनी एलिट एक्सपिडिसनमार्फत नयाँ पुस्ताका नेपाली पर्वतारोहीलाई अवसर सिर्जना गरिरहेका छन्। साथै ‘निम्स दाइ फाउन्डेसन’ मार्फत शिक्षा, वातावरण संरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा पनि काम गर्दै आएका छन्।
हालै फाउन्डेसनले सोलुखुम्बुको लोबुचेमा भरियाका लागि ‘पोर्टर हाउस’ निर्माण गरेको छ। करिब ६ करोड रुपैयाँभन्दा बढी लागतमा बनेको उक्त भवनमा एक सयभन्दा बढी भरिया बस्न सक्ने क्षमता रहेको छ। हिमालमा भारी बोक्ने भरियाले सुरक्षित र सहज रूपमा बस्न पाउने उद्देश्यले यो संरचना निर्माण गरिएको हो।
यद्यपि, निम्स दाइ विभिन्न समयमा केही विवादमा पनि तानिएका छन्। आमादब्लममा कुवेतको झण्डा राखेको, यौन दुर्व्यवहारको आरोप, कम्पनीले भाडामा लिएको घरमा आगलागी हुँदा भएको मानवीय क्षति तथा केही आरोहण गतिविधिसम्बन्धी आरोपहरू लागेका थिए। उनले भने ती सबै आरोपको खण्डन गर्दै आएका छन्।
संघर्ष, साहस र दृढ इच्छाशक्तिको उदाहरण बनेका निम्स दाइले नेपाली पर्वतारोहणलाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्याएका छन्। उनको यात्राले एउटा सन्देश दिएको छ— दृढ संकल्प र मेहनत भए असम्भव भन्ने शब्द केवल एउटा
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
