
पाँचथरका तीन स्थानीय तहमा रेविज संक्रमण फैलिन थालेपछि स्थानीय प्रशासन र पशु सेवा निकायले निगरानी तथा नियन्त्रणका उपायहरू तीव्र बनाएका छन्। सबैभन्दा बढी जोखिम फाल्गुनन्द गाउँपालिकामा देखिएको छ।
फाल्गुनन्द गाउँपालिकाको सातमध्ये पाँच वडामा रेविज संक्रमण पुष्टि भएको पशु सेवा शाखाले जनाएको छ। शाखा प्रमुख गोपाल घिमिरेका अनुसार वडा नम्बर २ फाक्तेपमा कुकुरको टोकाइपछि दुई गोरु, दुई भैँसी र दुई गाईमा रेविज संक्रमण पुष्टि भएको थियो।
वडा नम्बर ६ को मेहेलबोटे क्षेत्रमा तीन गाईभैँसी र सात जना मानिसलाई तथा वडा नम्बर ७ आङसराङ क्षेत्रमा तीन राँगा, सात बाख्रा र केही कुकुरलाई अज्ञात कुकुरले टोकेको जनाइएको छ। ती पशुमा रेविजसँग मिल्दोजुल्दो लक्षण देखिएको छ।
यस्तै वडा नम्बर ५ मा पनि सात बाख्रालाई कुकुरले टोकेकोमा अधिकांशमा रेविजको लक्षण देखिएको गाउँपालिकाले जनाएको छ। हालसम्म फाल्गुनन्दका विभिन्न वडामा १५ वटा पशु रेविजका कारण मरेका छन् भने ४५ वटा पशुमा संक्रमणको लक्षण देखिएको छ।
वडा नम्बर १ नवमीडाँडामा एउटै कुकुरले दुई जना मानिस, एउटा कुकुरसहित अन्य पशुलाई टोकेको थियो। उक्त कुकुरको पीसीआर परीक्षण गर्दा रेविज संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र फिदिमले जनाएको छ।
पशु सेवा शाखाका प्रमुख घिमिरेका अनुसार संक्रमित कुकुर भित्री बस्तीमा समेत पुगेर पशु चौपायालाई टोकिरहेको जानकारी आइरहेको छ। त्यसैले संक्रमित पशुको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
संक्रमण फैलिन थालेपछि स्थानीयमा त्रास बढेको छ। अधिकांश पशुमा गरिएको प्रारम्भिक तथा पीसीआर परीक्षणबाट रेविज पुष्टि भएको छ भने केही नमुनाको परीक्षण अझै जारी रहेको जनाइएको छ।
नवमीडाँडा, इम्बुङ, फाक्तेप, पिपलबोटे र मेहेलबोटे क्षेत्रलाई उच्च जोखिम क्षेत्र घोषणा गर्दै गाउँपालिकाले निगरानी बढाएको छ।
यसैबीच, फिदिम बजारमा शनिबार साँझ एउटा शंकास्पद भुस्याहा कुकुरले करिब ३० वटा कुकुर र एक बालिकालाई टोकेपछि नगरपालिकाले उक्त कुकुरलाई नियन्त्रणमा लिएको छ। स्थानीयका अनुसार सोही कुकुरले फिदिम नगरपालिका–४ का एक स्थानीयको भैँसीलाई पनि टोकेको थियो।
घटनापछि फिदिम नगरपालिकाले मुस्कान चोक नजिक कुकुरका लागि क्वारेन्टिन निर्माण गरेको छ। एउटै कुकुरले करिब ४० वटा कुकुर, अन्य पशु चौपाया र केही मानिसलाई टोकेपछि क्वारेन्टिन स्थापना गरिएको जनाइएको छ।
यसअघि हिलिहाङ गाउँपालिकामा निगरानीमा राखिएको एउटा खसीमा पनि रेविज संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
यससँगै पाँचथरका फाल्गुनन्द, फिदिम र हिलिहाङ गरी तीन स्थानीय तहमा रेविज संक्रमणको जोखिम बढेको निकायले जनाएको छ।
संक्रमण फैलिन नदिन नगरपालिका र प्रभावित गाउँपालिकाले पशुमा अस्वाभाविक व्यवहार, अत्यधिक र्याल बग्ने वा आक्रामक लक्षण देखिए तत्काल पशु सेवा शाखा वा भेटेरिनरी अस्पतालमा जानकारी गराउन तथा जोखिममा रहेका पशुबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
पशु सेवा प्राविधिकका अनुसार संक्रमण नियन्त्रणका लागि कुकुरको निगरानी, खोप अभियान र जोखिम क्षेत्रहरूमा सचेतनामूलक कार्यक्रमलाई तीव्र बनाइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
