
चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलामा आएको बाढीले चार घर र एक झोलुङ्गे पुल बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार बिहान आएको बाढीले चुमनुब्री–४ का नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो ।
बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए । बाढी आएको जानकारी पाएपछि स्थानीयवासी समयमै सुरक्षित स्थानतर्फ भागेकाले मानवीय क्षति हुन नपाएको उनले जानकारी दिए ।
बाढीले सोही स्थानको झोलुङ्गे पुलसमेत बगाएको छ । पुल बगेपछि मनास्लु पदयात्रामा रहेका पर्यटकहरूलाई समस्या हुने बताइएको छ ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले तत्कालका लागि पैदल हिँड्न मिल्ने गरी स्थानीयस्तरबाट केही उपाय गर्न सकिने बताए ।
खोलाको मुहानी क्षेत्रमा केही समय पानी थुनिएर लेदोसहित बाढी आएको र त्यसले क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
थेराङ खोला बूढीगण्डकीमा मिसिने भएकाले बूढीगण्डकीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
