
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउने प्रयास गलत भएको टिप्पणी गरेका छन् ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपति र उपराष्ट्रपतिको भूमिका अरूभन्दा फरक र सम्मानित हुने भएकाले त्यस्तो पदमा बसेकाहरूलाई पुनः राजनीतिमा ल्याउने काम असंगत हुने बताए ।
महासचिव पोखरेलले यसअघि पनि राजनीतिक दलहरूले गरेका गल्तीलाई पछ्याउनुको साटो, उनीहरूको कमजोरी सच्याउनुपर्नेमा जोड दिदै , “पूर्व राष्ट्रपतिलाई राजनीतिमा फर्काउने प्रयास कमजोरी हो। एमालेले माओवादी केन्द्रले गरेको त्यस्तै गल्ती दोहोर्याउनु हुँदैन, बरु नैतिक दबाब सिर्जना गरेर कमजोरी सच्याउनुपर्छ।”
त्यसक्रममा महासचिव पोखरेलले हाल नेपाली राजनीतिमा बढिरहेको अवसरवाद र अराजकताप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार अवसरवाद र अराजकताकै कारण विसं २०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनावमा कञ्चनपुरमा एमालेले हार बेहोर्नुपरेको थियो।
पार्टीलाई बलियो बनाउन अनुशासन र एकता अपरिहार्य रहेको भन्दै पोखरेलले भने , “अनुशासन र एकताको अभावमा कुनै पनि पार्टी सफल हुन सक्दैन। कञ्चनपुरमा विगतमा जे गल्ती भएका थिए, त्यस्ता गल्ती दोहोरिनु हुँदैन।”
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।