
पार्टी अध्यक्ष केपी शर्मा ओलीले खुलेर असन्तुष्टि जनाइरहेको बेला पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अझै निर्णायक रूपमा राजनीतिक मञ्चमा सक्रिय भएकी छन्। उनले हाल भंगालस्थित निवासलाई भेटवार्ताको केन्द्र बनाउँदै एमालेभित्रका दोस्रो–तेस्रो तहका नेतादेखि अन्य दलका शिर्ष नेता सम्मसँग निरन्तर संवाद चलाइरहेकी छन्।
मंगलबार बिहान मात्रै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद मनिष झा र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग करिब डेढ घण्टा लामो छलफल गरिन्। सो क्रममा भण्डारीले सहकारी ठगी प्रकरणलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई अनावश्यक दुःख दिइएको भन्दै असन्तुष्टि प्रकट गरेकी थिइन्। झाका अनुसार, उनले रविप्रति सद्भाव रहेको खुलेरै बताइन्।
यसअघि उनले कांग्रेस नेता शेखर कोइराला, नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल, बागमती प्रदेशका मन्त्री तथा एमाले नेता जयराम थापा लगायतसँग पनि भेटघाट गरिसकेकी छन्। भण्डारीको यस्तो निरन्तर सक्रियतालाई एमालेभित्र मात्र नभई समग्र राष्ट्रिय राजनीतिसँग जोडेर व्याख्या गर्न थालिएको छ।
विशेषज्ञहरूका अनुसार, ओलीले उनलाई निष्क्रिय बनाउन खोजेपनि भण्डारी उल्टै बहुपक्षीय भेटवार्ताले आफ्नो राजनीतिक हैसियत बलियो बनाउँदैछिन्। यही कारण उनको भेटघाटलाई आगामी राजनीतिक समीकरण र सत्ता–सन्तुलनसँग गाँसेर हेरिन थालेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।