आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत जारी एकदिवसीय शृंखलामा नेपाल आज यूएईसँग भिड्दै छ। दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेबाट सुरु हुनेछ।
नेपाल र यूएई दुवै टोली पहिलो खेलमा अमेरिकासँग पराजित भएका कारण दोस्रो खेललाई जितका लागि ‘डु–अोर–डाइ’को रूपमा लिइरहेका छन्। नेपाल अमेरिकासँग १०६ रनले हार्दा, यूएई ४ विकेटले पराजित भएको थियो।
अब दुवै टोली लिगमा आफ्नो पहिलो जितको खोजीमा मैदानमा उत्रिँदै छन्।
नेपाल र यूएईबीचको प्रतिस्पर्धा सधैं रोमाञ्चक रहँदै आएको छ। अघिल्ला १५ ओडिआई भिडन्तमध्ये नेपालले ९ खेल जितेको छ भने यूएई ६ खेलमा विजयी भएको छ।
लिग–२ को हालको तालिकामा अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ। नेपाल १७ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ भने यूएई ६ अंकसहित अन्तिम स्थानमा रहेको छ।
आजको खेल नेपालका लागि मनोबल पुनःउठाउने अवसरका रूपमा हेरिएको छ। टिम व्यवस्थापनका अनुसार टसको निर्णय र बलिङ लाइनअपले खेलको परिणाममा निर्णायक भूमिका खेल्नेछ।
