२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

धवलागिरि गाउँपालिकाका जलजला, मुना र मरेनी क्षेत्रमा थप संकटापन्न रेडपाण्डा (हाब्रे) पाइएका छन्। जैविक विविधता संरक्षण समाज नेपालले हालै तीन स्थानमा जडान गरेका क्यामेरामा दुईमा रेडपाण्डा भेटिएको जानकारी दिएको छ।

कार्यक्रम अधिकृत पवन राईका अनुसार एक महिनासम्म गरिएको स्थलगत अध्ययनमा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको हो। अध्ययनले सो क्षेत्रमा छदेखि २५ वटासम्म रेडपाण्डाको बसोबास रहेको देखाएको छ।

स्थानीयवासी र अनुसन्धानकर्ताको टोलीले धवलागिरि–२ र ३ का खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ र गुर्जाखानी क्षेत्रहरूमा रेडपाण्डाको उपस्थिति पुष्टि गर्ने काम गरेको थियो।

अनुसन्धानकर्ताका अनुसार रेडपाण्डासँगै पर्यटनको अवसर सिर्जना गर्न सकिनेछ। जलजला क्षेत्रमा हिमाल, मनमोहक पहाडी भूगोल र रेडपाण्डा एकसाथ अवलोकन गर्न सकिन्छ। यस क्षेत्रमा रेडपाण्डा संरक्षणसँग जोडेर खेलकुद प्रतियोगिता, घरवास र पदमार्ग सञ्चालन गर्न सकिने सुझाव समेत दिइएको छ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले भने, “गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको संख्या स्पष्ट नभए पनि पर्याप्त रहेको अनुमान छ। राति रूखको टोड्कामा बास लिन्छन् र दिउँसो हाँगा बसेर आराम गर्छन्।”

रेडपाण्डाको प्रमुख आहारा निगालो र टोट्का परेका रुखहरू उपलब्ध छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डा संरक्षित जातमा राखिएको छ। चोरीसिकारीलाई एकदेखि दस वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।

हाल नेपालमा अनुमानित पाँच सयदेखि एक हजार रेडपाण्डा रहेका छन्। जैविक विविधता संरक्षण समाज नेपालले समुदायस्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ। रासस

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय