काठमाडौं — जेन–जी आन्दोलनबारे पहिलो पटक मुख खोलेका प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुवेर खापुङले नयाँबानेश्वरमा भएको गोलीकाण्डबारे स्पष्टिकरण दिएका छन् । उनले भदौ २३ गतेको घटनामा प्रहरी ‘घुसपैठियाको उक्साहट’ र ‘संसद् भवन जल्ने खतरा’का कारण गोली चलाउन बाध्य भएको दाबी गरेका हुन् ।
इमेज टेलिभिजनको हटसिट कार्यक्रममा पत्रकार विकास थपलियासँग कुरा गर्दै खापुङले भने, “प्रहरीले त्यो दिन बल प्रयोग गर्न चाहेको होइन, तर परिस्थितिले बाध्य बनायो। संसद् भवनमा आगजनी र तोडफोड सुरु भएपछि त्यहाँ खटिएको फोर्सले आफ्नो जिम्मेवारी अनुसार कदम चाल्यो।”
उनका अनुसार आन्दोलन प्रारम्भिक रूपमा सामाजिक सञ्जाल बन्दको विरोधका रूपमा सुरु भए पनि पछि केही व्यक्तिहरूले त्यसलाई हिंसात्मक बनाएको आरोप उनले लगाए । “केही घुसपैठियाले योजनाबद्ध रूपमा संसद् भवन नजिकै तोडफोड र आगजनी गर्न खोजे, त्यसैले प्रहरी बल प्रयोग गर्न बाध्य भयो,” उनले भने ।
‘संसद् जल्ने अवस्था थियो’
आइजिपी खापुङका अनुसार यदि त्यस दिन प्रहरीले गोली नचल्यो भने संसद् भवन जल्ने खतरा थियो । उनले भने, “त्यो दिन गोली नचलेको भए संसद् भवन जल्थ्यो, तर त्यसपछि पनि दोष प्रहरीमाथि नै आउँथ्यो।”
उनले प्रहरीको संयमता उल्लेख गर्दै भने, “२ हजार राउन्डभन्दा बढी गोली चले पनि त्यसअनुसार घाइते छैनन्, यो नै प्रहरीको संयमको प्रमाण हो।”
‘घुसपैठ स्पष्ट छ, तर नाम खुलाउने बेला आएको छैन’
खापुङले जेन–जी आन्दोलन शान्तिपूर्ण हुनसक्ने सम्भावना रहे पनि केही समूहले त्यसमा घुसपैठ गराएको बताए । तर कसले घुसपैठ गरायो भन्ने विषय समयक्रममा खुल्ने दाबी गरे ।
उनले आन्दोलनलाई नियन्त्रण गर्न ‘न्यूनतम बल प्रयोग गर्ने रणनीति’ अपनाइएको बताए । “तीनकुनेदेखि एभरेस्ट होटलसम्म कुनै ब्यारिकेट राखिएको थिएन, अन्तिम ब्यारिकेट संसद् अगाडि राखिएको थियो ताकि बल प्रयोग गर्नु परे पनि सानो स्तरमै रोक्न सकियोस्,” उनले स्पष्ट गरे ।
‘कानुनभन्दा माथि कोही छैन’
गोली चलाउने आदेशबारे प्रश्नमा खापुङले भने, “स्थानीय प्रशासन ऐनअनुसार गोली चलाउने आदेश प्रमुख जिल्ला अधिकारीलाई हुन्छ। त्यो परिस्थितिले बनाएको अवस्था थियो, आदेश दिने कसैले होइन।”
प्रधानमन्त्री र गृहमन्त्रीमाथि पक्राउको मागबारे उनले भने, “भावनाले कानुन चल्दैन। प्रहरीले कानूनको सीमा नाघेको छैन।”
उनले अन्त्यमा भने, “प्रहरी सधैं दोहोरो मारमा पर्छ — बल प्रयोग गरे पनि प्रश्न, नगरे पनि प्रश्न। तर त्यो दिन हामीले राज्यको प्रतिष्ठान जोगायौं।”
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
