२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

शुक्लाफाँटा नगरपालिका–१ बन्साह क्षेत्रमा दुई दिनदेखि बहुलाहा कुकुरका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। अनियन्त्रित रूपमा डुलिरहेको उक्त कुकुरले मानिस र पशु चौपायालाई टोकेपछि रेबिज फैलिन सक्ने जोखिम बढेको हो।

वडा नम्बर–१ का अध्यक्ष उत्तरदेव भट्टका अनुसार बहुलाहा कुकुरले दुई जना स्थानीय बासिन्दा, एक गाई र १३ वटा कुकुरलाई टोकेको छ। सोमबार बिहानदेखि जो–कोहीलाई देख्नासाथ आक्रमण गर्ने अवस्थामा पुगेको कुकुरलाई प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा मंगलबार साँझ नियन्त्रणमा लिइएको उनले बताए।

कुकुर नियन्त्रणमा लिइए पनि त्यसले टोकेका कुकुर तथा पशुबाट अन्य मानिस र पशुमा रेबिज सर्ने सम्भावना अझै कायमै रहेको वडा अध्यक्ष भट्टको भनाइ छ। कुकुरले टोकेका व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको छ भने टोकिने गाईलाई रेबिजविरुद्धको खोप लगाइएको छ।

वडा कार्यालयले बहुलाहा कुकुरले टोकेका अन्य कुकुरको खोजीका लागि टोली परिचालन गरेको छ। तर ती कुकुर पत्ता लगाउन कठिन भइरहेको जनाइएको छ। वडाध्यक्ष भट्टका अनुसार रेबिजविरुद्धको भ्याक्सिन खरिद प्रक्रिया अघि बढाइसकिएको छ र आजदेखि कुकुरलाई खोप लगाउने तयारी गरिएको छ।

स्थानीय बासिन्दाले बहुलाहा कुकुरले टोकेका कुकुरबाट थप आक्रमण हुन सक्ने डरले गाउँमा भयको वातावरण सिर्जना भएको बताएका छन्। नगर प्रहरी प्रमुख पदमबहादुर ऐरका अनुसार बहुलाहा कुकुरलाई नियन्त्रणमा राखेर निगरानी गरिँदै छ।

वडा कार्यालयले कुकुरले टोकेको आशंका भएका व्यक्ति, कुकुर र गाईबस्तुका परिवारलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय