नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ मानिने नेता विष्णु रिमाल उपमहासचिव पदको प्रतिस्पर्धामा चुनौतीपूर्ण स्थितिमा देखिएका छन्। साबिकको उपमहासचिव पदमै उम्मेदवारी दिएका रिमाल अहिलेसम्मको मतगणनामा टप थ्री भित्र अटाउन सकेका छैनन्।
एमालेमा उपमहासचिव पदका लागि तीन जना चयन हुने व्यवस्था रहेको छ। यस पटक सात जना उम्मेदवारबाट चारजनाबीच कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो अपडेट अनुसार उपमहासचिव पदमा लेखराज भट्टराई सर्वाधिक मतसहित अगाडि छन्। माओवादी पृष्ठभूमिबाट आएका भट्टराई यसअघि सचिव थिए र संस्थापन पक्षले फेरि उनलाई सचिवमा उठाउन खोज्दा उनले विद्रोह गर्दै उपमहासचिव पदका लागि उम्मेदवारी दिएका थिए। अन्ततः संस्थापनले उनलाई आफ्नो प्यानलमा उपमहासचिवमै समावेश गरेको छ।
लेखराज भट्टराईपछि रघुवीर महासेठ दोस्रो स्थानमा छन् भने ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रोमा रहेका छन्। रघुवीर र योगेशबीच मतान्तर केवल ३ मतको छ। विष्णु रिमाल चौथो स्थानमा २३० मतसहित रहेका छन्।
हाल उनी प्रतिस्पर्धाबाट पूर्ण रूपमा बाहिर भने भइसकेका छैनन्। भोटको रफ्तार बढाए उनी टप थ्रीमा पुग्न सक्छन्। तर यदि पराजित भएमा अध्यक्ष ओलीको प्यानलमा प्रभाव पर्नेछ।
अन्य उम्मेदवारमा आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्र गौतम पछाडि परेका छन्। गौतमले आफ्नो उम्मेदवारी नै निस्क्रिय बनाएका थिए। यसरी उपमहासचिवको प्रतिस्पर्धा अझै असुरक्षित र निर्णायक चरणमा पुगेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
